कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ ।
शनिबार बाढीपछि बेपत्ता भएका लामाको शव आज नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय प्रहरीको समन्वयमा सोहरदगढ प्रहरी चौकीमा उनको शव राखिएको छ । आवश्यक कानुनी प्रक्रिया तथा भारतीय प्रहरीसँगको समन्वयपछि शव नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।
प्रहरी नायब उपरीक्षक सिंहले भने, “फोटो भिडियोबाट बालकको शव पहिचान भइसकेको ट, शवलाई नेपाल ल्याउने तयारी गरिएको छ ।” बाणगङ्गा नदीमा शनिबार आएको बाढीका कारण बालक बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको थियो ।






