Khabar Out
स्वयम्भूमा एक महिनाको मेला सम्पन्न

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरूले स्वयम्भूमा एक महिनासम्म सञ्चालित गुँला पर्वका अवसरमा मेला भरेका हुन् । गत साउन २८ गतेदेखि सुरु भएको मेला शनिबार राति विधिपूर्वक समापन गरिएको हो ।

बौद्ध धर्मावलम्बीले बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणका निमित्त सन्देश प्रवाह गरेको विश्वासका साथ यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रूपमा लिने गरेका महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए । उनका अनुसार स्वयम्भूमा मेला भरेपछि नजिक रहेका शोभा भगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा छ ।

संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायत कार्य गरेको सचिव बुद्धाचार्यले जानकारी दिए । मेलामा सहभागी भएमा तथा दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास धर्मावलम्बीको छ ।

मेला अवधिभर बुद्ध जीवनी तथा बुद्ध उपदेशलाई कथाका रुपमा वाचन गरिएकाले पनि त्यसमा सहभागी हुन भक्तजन आउने गरेका सचिव बुद्धाचार्यले बताए । संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन् । रासस

 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update