बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सेवाग्राही पासको प्रबन्ध गरेको छ ।
प्रहरी सेवालाई थप प्रभावकारी, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयमा आउने सेवाग्राहीका लागि पासको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले सेवाग्राहीलाई पास प्रदान गरी उक्त सेवाको सुरुआत गरे ।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले आफ्नो आवश्यक विवरण खुलाएपछि सम्बन्धित शाखा वा कामका आधारमा पास उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
उनले भने, “अब गेटमै नागरिक सहायता कक्षबाट सेवाग्राहीको काम र जाने शाखाका आधारमा पास उपलब्ध गराइन्छ । सेवा लिएर फर्किएपछि त्यहीँ पास बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।”
भिजिटर पास सेवाले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको पहिचान गर्न सहज हुनुका साथै कार्यालय परिसरमा हुने अनावश्यक भीडभाडसमेत कम हुने प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
प्रहरी कार्यालयमा उजुरी, निवेदन, मुद्दासम्बन्धी काम, प्रशासनिक सेवा, विभिन्न सिफारिस तथा अन्य प्रहरी सेवाका लागि दैनिक रूपमा सेवाग्राही आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालयले नागरिकलाई प्रहरी सेवा सहज, छिटोछरितो र नागरिकमैत्री रूपमा उपलब्ध गराउन विभिन्न सुधारका प्रयास गर्दै आएको जनाएको छ । रासस






