Khabar Out
भारतबाट उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा

रुपन्देही । भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको विशेष पहल तथा प्रहरी महानिरीक्षकको समन्वयमा भारतीय प्रहरी, नेपाली राजदूतावास तथा सम्बन्धित सामाजिक संस्थासँगको समन्वयमा उनीहरूको उद्धार गरी स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको समन्वयमा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत एक संस्थाले महाराष्ट्र, दिल्ली, झारखण्ड, विहारलगायतका स्थानबाट बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएकामध्ये १० बालक र पाँच बालिका छन् ।

‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार उनीहरूलाई मदरसामा पढाउने भन्दै भारत लगिएको बताइन्छ । यस्तै, पारिवारिक विग्रह, घरेलु झैझगडा तथा पारिवारिक हिंसाका कारण केही बालबालिका जोखिमपूर्ण अवस्थामा पुगेका थिए । केही बालिका दिल्लीको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेपछि उद्धार गरिएको उनले बताए ।

बुधबार अभिभावकको जिम्मा लगाइएका बालबालिकामध्ये महोत्तरीको एक गाउँपालिकाका छ जना बालक छन् । मदरसामा पढाउने भन्दै महाराष्ट्रको जलान जिल्लामा पुर्‍याइएका उनीहरूलाई महाराष्ट्र प्रहरीसँगको समन्वयमा उद्धार गरिएको थियो ।

त्यसैगरी, पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ । उद्धार गरिएका अन्य बालबालिकामा पाल्पाका दुई बालक, अछाम र कञ्चनपुरका एक–एक बालक तथा सिराहाकी एक बालिका छन् ।

घरायसी झैझगडा, पारिवारिक विग्रह तथा घरेलु हिंसाका कारण केही बालबालिका घर फर्कन इच्छुक देखिएका छैनन् । त्यस्ता बालबालिकाको सुरक्षा र आवश्यकताका आधारमा वैकल्पिक व्यवस्थापन गरिने रूपन्देही प्रहरीले जनाएको छ ।

उद्धारपछि स्वदेश फिर्ती, मानसिक परामर्श, आवास, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनका लागि ‘किन इन्डिया’, शुभअवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन नेपालले सहकार्य गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालबालिकालाई अभिभावकसँग समन्वय गरी जिम्मा लगाइएको बताए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update