Khabar Out
इरानमा पेट्रोल महँगियो

काठमाडाैँ । आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो। मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ । सरकारले मूल्यवृद्धिबाट प्राप्त अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ।

इरानमा पेट्रोलको मूल्य अझै विश्वकै न्यूनमध्ये रहे पनि कमजोर बन्दै गएको मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप दबाब परेको छ । राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीले नयाँ मूल्यले करिब १५ प्रतिशत उपभोक्तालाई असर गर्ने बताए ।

उनका अनुसार अगस्टमा पेट्रोलको दैनिक खपत १४ करोड ५० लाख लिटर पुगेको थियो भने घरेलु उत्पादन क्षमता १२ करोड २० लाख लिटर मात्र छ । विशेषज्ञहरूले पुराना सवारीसाधन र कमजोर सार्वजनिक यातायातका कारण खपत उच्च रहेको बताएका छन् । तर, वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत रहेका बेला पेट्रोलको मूल्यवृद्धिले महँगी थप बढ्न सक्ने उनीहरूको भनाइ छ।

सन् २०१९ को पेट्रोल मूल्यवृद्धिले इरानमा व्यापक प्रदर्शन निम्त्याएको थियो।पछिल्लो मूल्यवृद्धिपछि तेहरानका बासिन्दाले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने चिन्ता व्यक्त गरेका छन् । तेहरानका नागरिक हमिद मिर्जेले पेट्रोल महँगिएपछि सर्वसाधारणको जीवन थप कठिन हुने बताए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update