अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गरेको राज्य सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उनकी किशोरी छोरी पनि सहभागी थिइन्। उनकी छोरीलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ ।
समारोहमा किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोधलाई अझ विविध र व्यावहारिक बनाउने बताउँदै समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिए । “शत्रुहरूको चिन्ता निश्चित रूपमा गहिरो हुनेछ”, उनले भने ।
गत जुनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टनका विध्वंसक हुन् । उत्तर कोरियाका अनुसार दुवै आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन् ।
यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियाले अभ्यास रक्षात्मक रहेको र उत्तर कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य भएको जनाएको छ ।
उत्तर कोरियाले भने उक्त अभ्यासलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै आलोचना गरेको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिनअघि समाप्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताएका थिए ।
तर किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अभ्यास छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने बताएकी थिइन् । त्यसपछि उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरे वार्तामा फर्कन सक्ने बताउँदै आएका छन्। सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणका बदलामा आर्थिक लाभ दिने विषयमा सहमति नहुँदा दुई देशबीचको कूटनीति विफल भएको थियो । अहिले उत्तर कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई वार्तामा थप लाभको अवस्थामा पुर्याएको विज्ञहरूको भनाइ छ । रासस






