झापा । विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएका छन् । हात्ती अभियान्ता शङ्कर लुइँटेलले २२ वटा हात्तीको समूह भारततर्फ फर्किएकाे जानकारी दिए ।
बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए ।
एक महिनापछि भारतबाट आएको ठूलो हुल आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले ठूलो राहतको महसुस गरेका छन् । स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्केपछि केही हदसम्म भए पनि स्थानीयमा त्रास कम भएको बताए ।
आज बिहान बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए । बिहानीपख घरआँगनमै हात्ती देखिएपछि स्थानीयहरू भागाभाग गर्न बाध्य भएका थिए ।
उक्त एक्लो हात्ती बिहान बस्तीमा घुमेको करिब चार घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिए । झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् ।
तिवारीका अनुसार नेपाल–भारत सीमामा लगाइएको सोलार फेन्सिङ (बिजुलीको झट्का दिने तारबार) पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सजिलै नेपालतर्फ छिर्ने गरेका छन् । जिल्लामा वर्षेनि हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रूपैयाँ बराबरको अन्नबाली र धनमालको क्षति हुने गरेको छ । रासस






