Khabar Out
मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो ।

थासाङ-१ टुकुचेमा योसँगै भदौमा मात्रै चार पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ । कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणका लागि लगाइएको तटबन्ध तथा ग्याविन वाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ-१ का वडाध्यक्ष सुरेश थकालीले जानकारी दिए।

उनका अनुसार गएरातिको कालीगण्डकी नदीको बाढीले टुकुचे गाउँ नजिकै रहेको स्याउ झण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)द्वारा निर्मित फोहर सङ्कलन गर्ने पूर्वाधार डुबानमा परेका छन् ।

नदीले धार परिवर्तन गर्दा कालीगण्डकी तटमा लगाइएका करिब एक हजार स्याउ बोट नष्ट भइसकेका वडाध्यक्ष थकालीले जानकारी दिए। नदीले यही गतिमा धार परिवर्तन गर्दै गएमा टुकुचे गाउँको तल्लो बस्तीमा रहेका ३० घरसहित गाउँ नजिकैको गुम्बा र ऐतिहासिक सम्पदामा क्षति पुग्ने उनले उल्लेख गरे ।

वडाध्यक्ष थकालीका अनुसार भदौमा मात्रै चार पटकसम्म नदीले धार परिवर्तन गरी कटान गरेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयद्वारा करोडौँ खर्च निर्माण गरिएको वाल तथा तटबन्ध बाढीले क्षति पुगेको छ । वडाध्यक्ष थकालीका अनुसार टुकुचे गाउँ र स्याउबारी संरक्षणका लागि पटकपटक नदी नियन्त्रण गर्ने प्रयास भइरहे भएपनि सफल हुन नसकिएको छैन ।

नदी नियन्त्रणका लागि स्थानीय जनश्रमदान र सरोकार भएका निकायले तारजालीको व्यवस्था गरी कटान रोक्ने प्रयास गरे पनि प्रभावकारी नभएको वडाध्यक्ष थकालीले बताए । टुकुचे बस्ती तथा स्याउबारीका संरचना जोगाउन थासाङ गाउँपालिका र गाउँलेले चार वटा डोजर परिचालन गरी नदी नियन्त्रण गर्ने निरन्तर पहल गरिरहका छन् ।

बर्सेनि बर्खायामको समयमा लेदो र गेग्रानसहितको नदीजन्य पदार्थले नदी सतहको उकास बढ्दै जाँदा कालीगण्डकी नदीले धार परिवर्तन गर्ने गरेको वडाध्यक्ष थकालीले बताए । नदी कटान रोक्ने प्रयास गरिएकाले केही नियन्त्रण भएको उल्लेख गर्दै उनले कटान पूर्ण रूपमा रोक्न स्थायी पूर्वाधार आवश्यक रहेकामा जोड दिए । 

रासस

 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update