Khabar Out
रुसी सैन्य भर्ती गर्ने नयाँ योजना छैन: पुटिन

काठमाडौँ । रुसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफवाह’ भने ।

राष्ट्रपति पुटिनले सन् २०२२ मा युक्रेनमा सैन्य असफलतापछि जगेडा फौजको ‘आंशिक परिचालन’ को आदेश दिएका छन् ।

उक्त आदेशलाई क्रेमलिनले करिब १४ करोड जनसङ्ख्यामध्ये मात्र तीन लाख जनामा लागू हुने बताएको थियो । यो अत्यन्त अलोकप्रिय थियो र यसले भर्ती उमेरका पुरुषहरूको ठुलो पलायन गराएको थियो ।

क्रेमलिनले बारम्बार अर्को भर्तीको योजना अस्वीकार गर्दै आएको छ । “आज कुनै पनि यस्तो परिदृश्य छैन जसले परिचालन आवश्यक बनाउँछ,” पुटिनले भ्लादिभोस्टोकमा आयोजित ‘इस्टर्न इकोनोमिक फोरम (इइएफ) सम्मेलनको पूर्ण सत्रमा भने ।

“यो ‘डुमा’ निर्वाचनको पूर्वसन्ध्यामा शत्रुको झूटो प्रचार अभियान हो जसले नतिजा प्रभावित पार्ने उद्देश्य राखेको छ,” उनले यस महिनापछि हुने रुसी संसदीय निर्वाचनलाई सङ्केत गर्दै भने ।

“हाम्रा मानिसहरू स्वेच्छाले भर्ती हुन्छन् र सम्झौतामा हस्ताक्षर गर्छन्,” उनले भने । किएभले पुटिनका टिप्पणीबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाईमा भनेका थिए, “मस्कोले अगाडि ठुलो क्षति बेहोरेपछि ‘शरदमा नयाँ परिचालन श्रृङ्खला’ को तयारी गरिरहेको छ ।

रूसको युद्ध मैदानमा यस वर्षको प्रगति उल्लेखनीय रूपमा सुस्त भएको छ किनकि उसको अगाडि युक्रेनले गरेको ड्रोनको व्यापक प्रयोगले द्रुत र ठुलो स्तरको फौज आवागमनलाई कठिन बनाएको छ ।

अमेरिकी थिंक ट्याङ्क समूह ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ले जुलाईमा युद्धकालमा सेनाले थप प्रकारका कैदीहरू भर्ती गर्न सक्ने हालै पारित कानुनलाई उद्धृत गर्दै भनेको थियो, “मस्कोले अर्को सैन्य परिचालनको ‘अवस्था’ तयार पारिरहेको देखिन्छ ।”

परिचालन ‘पुटिनका लागि अत्यन्त व्यक्तिगत निर्णय हो र अन्ततः युद्ध मैदानको अवस्था र क्रेमलिनको स्थिरताप्रति पुटिनको व्यक्तिगत धारणामा निर्भर गर्छ,” उक्त कानुनी प्रावधानमा भनिएको छ ।

दुवै पक्षले द्वन्द्वमा ठुलो सैन्य क्षति बेहोरेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update