काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको छ ।
कतार र पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाइरहेका छन्। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि युद्ध सुरु भएको थियो ।
इरानले अमेरिकाले आफ्ना सर्त पूरा गरेमा द्वन्द्व सुरु भएदेखि बन्द रहेको विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग हर्मुज दुई दिनभित्र खुला गर्न सकिने जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी समाचार संस्था इर्नासँग कुरा गर्दै सैन्य कारबाही वा थप प्रतिबन्धबाट द्वन्द्व समाधान नहुने बताए। इरानका माग सम्बोधन गर्दै कूटनीतिक वार्तामा सहभागी हुनु नै समस्याको समाधान भएको उनको भनाइ थियो ।
इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने माग समावेश छन्।
यसअघि सोमबार कतारका प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताएका थिए। मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि वासिङ्टनले इरानमाथि पुनः आक्रमण गर्ने धम्की कम गरेको देखिएको छ।
सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू यथास्थिति कायम राख्न चाहेकाले थप आक्रमणको सम्भावना न्यून रहेको बताउनुभयो । अमेरिकाको हित सुरक्षित राख्दै युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक गति देखिएको उनको भनाइ थियो।
कतारका विदेश मन्त्रालयका अधिकारी इब्राहिम अल–हास्मीले पनि वार्तामा प्रगति भएको बताए। मध्यस्थकर्ताहरूले दुवै पक्षका अडानबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेको र आफूहरू आशावादी रहेको उनले बताए।
इरानी राजनीतिक विश्लेषक अली बिगदेलीले अमेरिकी मध्यावधि निर्वाचनपछि वासिङ्टन वार्तामा केही लचिलो देखिएको बताए। तर, इरानका माग अमेरिकाका लागि स्वीकार गर्न कठिन रहेको उहाँको भनाइ थियो । दुवै देशबीचको गहिरो अविश्वासका कारण समाधान जटिल बनेको उनले उल्लेख गरे।
यसैबिच इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानी माग स्वीकार गरी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
युद्ध पुनः सुरु हुन सक्ने आशङ्काले खाडी क्षेत्रका राष्ट्रहरू पनि चिन्तित छन्। संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले कूटनीतिक समाधानमार्फत खाडी क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरे। यद्यपि, लामो समयसम्म अनिश्चितता कायम रहे निर्णायक समाधान र क्षेत्रीय स्थिरता दुवै प्रभावित हुने उनको चेतावनी थियो।
यसैबिच साउदी अरबको राजधानी रियादमा विस्फोटका आवाज सुनिएका छन्। साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र बीचैमा निष्क्रिय पारेको जनाएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्धको सैन्य अभियान अझै पूरा नभएको बताए। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिए। तर, ट्रम्पले यस्तो आक्रमणलाई समर्थन गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट भइसकेको छैन । रासस







