Khabar Out
रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

काठमाडाैँ। रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ।

फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ।

रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार अमेरिका–इजरायल र इरानबिच सैन्य द्वन्द्व भइरहेका बेला पनि उक्त कार्यक्रम जारी रहेको थियो । इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई रुसबाट इरानतर्फ भएको अत्यन्त रणनीतिक सैन्य प्रविधिको महत्त्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्तो कार्यक्रम सञ्चालनका लागि रूसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक हुन्छ।

रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ । सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ । खाडी क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रुज मिसाइल तैनाथ भइसकेको प्रमाण भने भेटिएको छैन । सीआईएका पूर्व इरानकेन्द्रित सैन्य विश्लेषक जिम ल्यामसनले यस्तो प्रविधिले इरानलाई अमेरिकी नौसेनाका जहाजविरुद्ध नयाँ स्तरको रणनीतिक क्षमता प्रदान गर्न सक्ने बताउनुभएको छ । चुहिएको रूसी पत्राचारले यस गर्मीयामसम्म पनि कार्यक्रमबारे छलफल भइरहेको देखाएको छ।

रुस र इरानबिच बढ्दो सैन्य सहकार्यका बीच यो विवरण सार्वजनिक भएको हो । इरानले रुसलाई ‘साहेद’ आक्रमण ड्रोन आपूर्ति गर्दै आएको छ र यी ड्रोन युक्रेनविरुद्धको रूसी युद्धमा प्रयोग हुँदै आएका छन् । पश्चिमी अधिकारीहरूले रुसले इरानलाई स्याटेलाइट तस्बिर, ड्रोन सहयोग र हतियारका सामग्री उपलब्ध गराएको आरोप पनि लगाउँदै आएका छन् ।

यसैबिच अमेरिकाले इरानी सैन्य संरचनाविरुद्ध आक्रमण तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमान्डले इरानी हवाई प्रतिरक्षा, समुद्री खानी राख्ने क्षमता तथा सञ्चार संरचनालाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । सेन्टकमका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक जहाज र अमेरिकी सैनिकविरुद्ध आइआरजिसीले गरेको प्रयास आक्रमणपछि ती कारबाही भएका हुन्।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आक्रमणले सिरिकमा आयोजित विवाह समारोहलाई समेत निशाना बनाएको र त्यसबाट ५० भन्दा बढी व्यक्ति मारिएका वा घाइते भएको दाबी गरेका छन्। इरानको सरकारी समाचार संस्था इरनाले अमेरिकी आक्रमणको जवाफमा आइआरजिसी एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज आसपासका इरानी लक्ष्यविरुद्ध नयाँ आक्रमण सुरु गरिएको बताउनुभएको छ । इरानले जलघाँटीमा थप समुद्री खानी बिछ्याउने तयारी गरेको दाबी गर्दै उहाँले त्यसको जवाफमा कारबाही गरिएको बताएका हुन्। उनले अमेरिकी आक्रमणको जवाफमा इरानबाट हुने कुनै पनि प्रतिक्रियाको कडा प्रतिकार गरिने चेतावनी दिँदै तेहरानविरुद्ध अझ ठूलो कारबाही हुन सक्ने सङ्केतसमेत गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update