Khabar Out
भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिए।

उनका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्यत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो । माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित ओभरसियर पदमा कार्यरत थिए।

“घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झानाले सताइरहेको छ”, रामकुमारले भन्नुभयो । “भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा हामी छौँ”, उनले भने।

उनीहरूकी ७० वर्षीया आमा छिनछिनमा छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु भन्दै बेलाबेलामा मुर्छित हुने गरेकाे स्थानीय विनोद साहले बताए। आमा र सम्पर्कविहीन भएका दाजुभाइका पत्नीहरूको अवस्था पनि दुखद् छ । कतिबेला श्रीमान् भेटिएला र खबर आउँला भन्ने पर्खाइमा उनीहरू कुरिरहहेका छन्।

माइलो, शिवकुमारको विवाह भएको पाँच वर्ष भयो । उनका दुई सन्तानसमेत छन् । साइँलो छोरा देवकुमारको यही वैशाखमा विवाह भएको हो । कान्छो सचित भने अविवाहित थिए। तीन वटै छोराहरू रसुवामा काम गर्न थालेपछि सुखी थियो यादव परिवार।

शिवकुमारको पत्नीसँग बाढी आएको दिन बिहान भलाकुसारी भएको थियोे । बाढी आउने कुनै अत्तोपत्तो थिएन । एक्कासी सम्पर्कविहीन भएको उनकी पत्नीले बताइन्।

'बुबा लालबहादुर भने छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन बित्यो । छोराहरूसँग कतै सम्पर्क हुन सकेन,' लालबहादुरले भने।

उनीहरूको जस्तै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको पीडा उस्तै छ । अजय पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन छन्। उनी रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत शिक्षक थिए।

उनी सोही ठाउँमा डेरा लिएर बस्दै आएका थिए। बाढी आएकै दिनदेखि अजय सम्पर्कमा नआएपछि उहाँको घरमा सन्नाटा छाएको छ । घरमा चुलोसमेत बल्न सकेको छैन । उनका आमाबुबा छिनछिनमा मुर्छित् पर्दै आएका छन्। अन्य परिवार चिन्तामा छन्।

उनको मामाका छोरा श्यामसुन्दर यादव भाइको खोजीमा रसुवासम्म पुगे । भाइको कुनै पत्तो नलागेको जानकारी दिनुभयो । रसुवाकै मेलुङ्ग–५ एमभी हाइड्रोपावरमा कार्यरत सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् ।

उनको अवस्थाबारे यथाशीघ्र सार्वजनिक गर्न परिवारले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका एक आमाछोरा पनि बाढीपछि सम्पर्कविहीन छन् । बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र उनका तीन वर्षीय छोरा दिवासकुमार राम बाढीपछि सम्पर्कविहीन छन्।

दुर्गानन्द राम करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न नुवाकोटको त्रिशूली बजारमा पत्नी र छोरासहित बस्दै आउनुभएको थियोे । दुर्गानन्द राम सकुशल रहे पनि आमाछोरा अझै सम्पर्कविहीन छन्।

यता नुवाकोट, हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । उहाँको शव गण्डकी अस्पताल कास्की, पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए । उनले भने, “बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना आए पीडितपरिवारलाई तत्काल जानकारी दिन्छौँ ।”

बाढीका कारण बोदेबरसाइन नगरपालिका आसपासका झन्डै ४८ व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूको परिवार पीडामा छ । सुरूङ, टनेलमा फसेकाको तत्काल उद्धार गर्न पीडितपरिवारले सरकारसँग माग गरेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयको मङ्गलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् भने १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा र एक जनाको मृत्यु भएको छ ।

रसुवा भोटेकोशी नदीमा आएर भएको बाढीले जनधनको क्षति र एक जनाको मृत्युु र ४८ जना सम्पर्कविहीन भएपछि सिङ्गो सप्तरी यतिबेला शोकमा डुबेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update