Khabar Out
इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको जलघाँटी आसपास व्यापारिक जहाजसम्बन्धी ६८ घटना भएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका अनुसार घटनामध्ये करिब आधामा ट्याङ्कर, २० प्रतिशतमा कन्टेनर जहाज र १५ प्रतिशतमा बल्क क्यारियर संलग्न थिए । युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले ४७ घटनालाई आक्रमणका रूपमा वर्गीकरण गरेको छ । लाइबेरियाको झण्डा बोकेका जहाज १३ घटनामा, पनामा र मार्सल आइल्यान्डका १०–१० तथा इरानका चार जहाज घटनामा परेका छन् ।

युद्ध सुरु भएदेखि जुनको मध्यसम्म औसत प्रत्येक दुई दशमलव तीन दिनमा एउटा घटना भएको थियो । यस अवधिमा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए । घटनाहरू इराक, इरान, कतार, साउदी अरब, ओमान र संयुक्त अरब इमिरेट्सका तटीय क्षेत्रमा समेत भएका थिए ।

शान्ति वार्ता अघि बढिरहेका बेला जुलाई ७ सम्म घटनाको दर घटेर प्रत्येक चार दशमलव छ दिनमा एक पुगेको थियो । त्यस अवधिमा कुनै मानवीय क्षतिको विवरण आएको थिएन । तर, अधिकांश घटना ओमानको तटमा हर्मुजको साँघुरो जलमार्ग आसपास केन्द्रित थिए ।

वार्ता समाप्त भएपछि घटनाको दर फेरि बढेर औसत प्रत्येक दुई दशमलव आठ दिनमा एक पुगेको छ । यस अवधिमा चार नाविक वा कामदारको मृत्यु, १६ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण हर्मुजमा बढ्दो सुरक्षा घटनाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत जोखिम बढाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update