Khabar Out
इरानमाथि पुनः कठोर कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । 

दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन् ।

बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कारबाही घोषणा गरेका छन् ।

उनले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

“जुनसुकै देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन अनुमति दिन्छ, उसले आफैँ ठूलो आर्थिक परिणामको सामना गर्नुपर्नेछ,” उनले भनेका छन्, “तेलको तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता, अग्र कम्पनीहरू यी सबै अहिले नै रोकिनुपर्छ ।” 

ट्रम्पले इरानको खतरा हटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको बताएका छन् । 

ट्रम्पले इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलोपटक भने होइन । अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ । अलजजिरा

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update