Khabar Out
जारी तनावबिच ८ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए

काठमाडाैँ । पश्चिम एसियामा जारी तनावका बीच करिब ८ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले जनाएको छ । यद्यपि, दक्षिणी लेबनानमा पछिल्ला इजरायली हवाई आक्रमणले पुनः विस्थापनको जोखिम बढाएको तथा मानवीय सङ्कट कायमै रहेको कार्यालयले जनाएको छ।

युएनएचसीआरका अनुसार, द्वन्द्वको चरम समयमा लेबनानभित्र १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। अहिले फर्किएकामध्ये करिब २२ हजार व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेका छन् भने करिब ३६ हजार अझै आफन्तको घर वा भाडाको आवासमा विस्थापित अवस्थामा छन्।

युएनएचसीआरले सामाजिक सञ्जाल ‘एक्स’ मा युद्धविराम घोषणा भए पनि सप्ताहन्तमा दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणपछि सयौँ परिवार सुरक्षाको खोजीमा उत्तरतर्फ गएको जनाएको छ । नयाँ विस्थापनले लामो समयदेखि जारी विस्थापन सङ्कट थप जटिल बनाएको र घर फर्किएका समुदायमा अनिश्चितता बढाएको कार्यालयले उल्लेख गरेको छ।

असुरक्षा, आफ्नो समुदायसम्मको पहुँचमा कठिनाइ तथा घर र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण धेरै परिवार अझै घर फर्कन असमर्थ छन् । द्वन्द्वका कारण स्वास्थ्य, खानेपानी र विद्युत् सेवासमेत प्रभावित भएका छन्।

युएनएचसीआरका अनुसार, सुरक्षित र स्थायी रूपमा घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने निर्णय गर्नुअघि कतिपय मानिसहरू विस्थापित क्षेत्र र आफ्नो मूल स्थानबीच पटक–पटक आवतजावत गरिरहेका छन् ।

दक्षिणी लेबनान र बेका क्षेत्रका केही भागमा हवाई आक्रमण, आवागमन प्रतिबन्ध, सैन्य गतिविधि तथा युद्धका विस्फोटक अवशेषका कारण सुरक्षा जोखिम कायमै रहेको युएनएचसीआरले जनाएको छ। द्वन्द्वको तीव्रता घटे पनि यी जोखिमले प्रभावित समुदायको सुरक्षित पुनरागमन र दीर्घकालीन पुनःस्थापनामा अवरोध सिर्जना गरेको छ।

मानवीय सहयोगमा सङ्लग्न संस्थाहरूले समेत स्रोतसाधनको अभाव झेलिरहेका कारण विस्थापित तथा घर फर्किएका परिवारलाई आवश्यक सहायता पुर्‍याउने क्षमता सीमित भएको कार्यालयले जनाएको छ ।

युएनएचसीआरले विस्थापित परिवार, घर फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई आवास पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना, आधारभूत पूर्वाधार निर्माण तथा दीर्घकालीन स्थायित्वका लागि निरन्तर अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update