Khabar Out
इमरानको स्वास्थ्यप्रति अल्वीको चिन्ता

पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको दाबी गर्दै उनलाई तत्काल अस्पतालमा सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गरेका छन् । उनले खानको तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति विशेष चिन्ता व्यक्त गर्दै लामो समयको एकान्तवासले उनको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।

अल्वीले सामाजिक सञ्जाल एक्समा खानको मेडिकल रिपोर्ट आफूले विभिन्न विशेषज्ञसँग छलफल गरेर अध्ययन गरेको बताउँदै त्यसका आधारमा आफू गम्भीर रूपमा चिन्तित भएको उल्लेख गरे । उनका अनुसार रिपोर्टमा खानको चिन्ता र तनावको उच्च स्तर, मुटुको धड्कन तथा उच्च रक्तचाप मुख्य चिन्ताका विषय देखिएका छन् ।

उनले रिपोर्टमा निद्रासम्बन्धी समस्याको स्पष्ट उल्लेख नभए पनि खानले प्रयोग गरिरहेको औषधिले त्यस्तो समस्या रहेको सङ्केत गर्ने बताए । “म इमरान खानलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छु । तनाव कहिल्यै उहाँको कमजोरी थिएन । अहिले यो चरम अवस्थामा पुगेको छ, जसले तीन वर्षको जेल र पूर्ण एकान्तवासले उहाँको स्वास्थ्यमा पारेको असर देखाउँछ”, अल्वीले भने ।

अल्वीले खानको मानसिक तनावलाई पाकिस्तानको राजनीतिक अवस्था, उनका सहकर्मीहरूको कैद तथा कतिपय व्यक्तिमाथि भएका सजाय र हिंसाका घटनासँग जोडेका छन् । परिवार, बाहिरी संसार र सूचना स्रोतबाट लामो समय अलग राखिनु तथा समाचारपत्र र पुस्तकमा पहुँच नहुनुले समेत उनको तनाव बढाएको अल्वीको भनाइ छ ।

खानको मुटुको चालप्रति पनि चिन्ता व्यक्त गर्दै अल्वीले उनको आरामको अवस्थामा मुटुको दर ५४ बिट प्रतिमिनेट रहेको बताए । सामान्य व्यक्तिका लागि यस्तो दरलाई चिकित्सकीय रूपमा सामान्य मान्न सकिए पनि खानको विगतको मुटुको दरको तुलनामा यो असामान्य हुन सक्ने उनको भनाइ छ । खानले मुटु धड्किने समस्या पनि बताएको अल्वीले उल्लेख गरे ।

अल्वीले खानको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कनका लागि तत्काल २४ घण्टे होल्टर मोनिटरमार्फत मुटुको निगरानी र रक्तचापको नियमित परीक्षण गर्न सुझाव दिए । उनले तनाव परीक्षण, इकोकार्डियोग्राम, कार्डियक एमआरआई, कोरोनरी धमनीको क्याल्सियम स्क्यान तथा कार्डियक सीटी एन्जियोग्रामलगायत परीक्षण आवश्यक हुन सक्ने बताए।

“म निकै चिन्तित छु । एकान्तवासले उहाँको शरीरमा शारीरिक असर गरिरहेको छ । यसलाई तत्काल सम्बोधन नगरिए थप जटिलतासहितको क्षति स्थायी हुन सक्छ”, अल्वीले भने ।

उनले खानलाई स्वतन्त्र चिकित्सकको प्यानलको निगरानीमा तत्काल अस्पतालमा सार्नुपर्ने माग गरे । खानको परिवार र पाकिस्तानका नागरिकले सरकारद्वारा नियुक्त चिकित्सकमाथि मात्र विश्वास गर्न नसक्ने अवस्था रहेको पनि अल्वीले बताए । आगामी तीन महिनामा उनको स्वास्थ्यमा सुधार आउने वा क्षति स्थायी बन्ने भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री खान हाल जेलमा छन् । उनका छोराहरू सुलेमान खान र कासिम खानले पनि बुबाको स्वास्थ्य तथा परिवार, चिकित्सक र कानूनी प्रतिनिधिसँगको पहुँचबारे चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूका अनुसार परिवार, चिकित्सक र वकिललाई सात महिनादेखि खानलाई भेट्न अनुमति दिइएको छैन ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरूले उनी र उनकी पत्नी बुशरा बीबीको तत्काल रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहनुभएको थियो । संसदीय अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि उहाँविरुद्ध विभिन्न मुद्दा अघि बढाइएका थिए । भ्रष्टाचार तथा सरकारी गोपनीयता उल्लङ्घनलगायतका मुद्दामा दोषी ठहरिएपछि उनी सन् २०२३ देखि जेलमा छन् ।

खान र उनका राजनीतिक सहयोगीहरूले आफूविरुद्धका कानूनी कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र उनको राजनीतिक पुनरागमन रोक्न मुद्दाहरू अघि बढाइएको आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्री पदबाट हटाइएपछि खानले तत्कालीन प्रधानमन्त्री शाहबाज सरिफको सरकार, पाकिस्तानको सैन्य प्रतिष्ठान तथा अमेरिकाले आफूलाई सत्ताबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाउँदै राष्ट्रव्यापी राजनीतिक अभियान सञ्चालन गरेका थिए । पाकिस्तानी प्रशासनले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।

सन् २०२४ को आमनिर्वाचनमा पीटीआईलाई प्रत्यक्ष रूपमा सहभागी हुन रोक लगाइएको र त्यसपछि पार्टीका नेता तथा समर्थकमाथि कारबाही गरिएको विषयलाई लिएर पनि खानका समर्थकहरूले विरोध गर्दै आएका छन् । उनीहरूले खानविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र उनको पुनः राजनीतिक सक्रियता रोक्ने उद्देश्यले अघि बढाइएको दाबी गर्दै आएका छन् । रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update