काठमाडाैँ। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न सोमबार भेला भएका कम्तीमा १५ जनाको दुई अलग–अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पश्चिम बङ्गाल राज्यको तारापीठमा रहेको एक होटलमा लागेको आगलागीबाट ८ जनाको मृत्यु भएको छ भने छिमेकी बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौडमासात जनाको मृत्यु भएको छ ।
होटलको आगलागीमा ज्यान गुमाएका पीडितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ आएका थिए । श्रावण महिना शिवलाई समर्पित पवित्र महिना हो जसले भक्तहरूको शिव मन्दिरमा ठुलो भिड आकर्षित गर्छ ।
“आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति मैले महसुस गरेको दुःख शब्दले व्यक्त गर्न सकिँदैन,” पश्चिम बङ्गालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा भनेका छन् ।
आगोको कारण तत्काल थाहा हुन सकेको छैन ।
बिहारमा लाखिसराय जिल्लाको अशोक धाम मन्दिरमा भीडभाड भएपछि भागदौडका क्रममा सात तीर्थयात्रीको कुल्चिएर चोट लागेका कारण मृत्यु भएको हो। घटनामा १९ जना घाइते भएका बताइएको छ ।
मन्दिर परिसरभित्रको विद्युतीय पोल भक्तहरूमाथि खसेको अफवाह फैलिएपछि भागदौड सुरु भएको जिल्ला प्रशासक शैलेन्द्र कुमारले एएफपीलाई बताए ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस घटनालाई ‘हृदय विदारक’ भनेका छन्। प्रत्येक पीडितको परिवारलाई चार लाख रुपैयाँ (चार हजार १८० अमेरिकी डलर बराबर) क्षतिपूर्ति घोषणा गरेका छन् ।
भारतका ठुला जमघट र धार्मिक चाडपर्वमा भीडभाड भई भागदौड मच्चिँदा मानवीय क्षति हुने गरेको देखिन्छ। मुख्यतया भिड व्यवस्थापनमा कमजोरीका कारण यस्ता घटना दोहोरिने गरेका पाइन्छ ।
भारतको पछिल्लो सबैभन्दा धेरै मानवीय क्षति भएको घटनामध्ये सन् २०२४ मा उत्तर प्रदेशमा भएको भागदौड हो । उक्त हजारौँ भक्तहरूको धार्मिक जमघटमा भागदौड मच्चिँदा कम्तीमा १२० जनाको मृत्यु भएको थियो ।







