वासिङ्टन डीसी । अमेरिकाकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोगबारे उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन् । यद्यपि उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण वा कागजात सार्वजनिक गरेकी छन् ।
ग्रीनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूबीच यस्तो छलफल भइरहेको दाबी गरेकी हुन् । उनका अनुसार ट्रम्प प्रशासनले इरानविरुद्ध आणविक कारबाहीको सीमा घटाउने दिशामा काम गरिरहेको छ ।
उनले अमेरिकी गुप्तचर निकायका आन्तरिक मूल्याङ्कनलाई समेत प्रशासनले बेवास्ता गरिरहेको दाबी गरिन् । ती मूल्याङ्कनले इरान आणविक हतियार विकास गर्ने दिशामा नरहेको सङ्केत गरेको उनको भनाइ छ । वासिङ्टनले इरानसम्बन्धी निर्णय गर्दा इजरायलबाट आएका चेतावनीलाई बढी आधार बनाइरहेको आरोप पनि उनले लगाइन् ।
ग्रीनले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने कुनै पनि निर्णयले क्षेत्रीय द्वन्द्वलाई व्यापक बनाउँदै ठूलो मानवीय क्षति र गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने चेतावनी दिइन् । ट्रम्पले आफू कुनै विदेशी युद्धमा नजाने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले अहिले बढिरहेको तनावले त्यसको विपरीत परिणाम निम्त्याउन सक्ने बताइन् ।
ग्रीनको दाबीबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकी सरकार वा रक्षा अधिकारीहरूले पनि इरानविरुद्ध आणविक आक्रमणको तयारी भइरहेको वा अमेरिकी आणविक नीतिमा परिवर्तन गरिएको कुनै सार्वजनिक पुष्टि गरेका छैनन् ।
ग्रीनको पछिल्लो भनाइ वासिङ्टन र तेहरानबिच सैन्य तथा राजनीतिक तनाव बढिरहेका बेला आएको हो । अमेरिकाले स्ट्रेट अफ हर्मुजलगायत प्रमुख समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम राख्दै इरानमाथि दबाब बढाइरहेको छ । इरानले भने अमेरिकी कदम अस्वीकार गर्दै क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाविरुद्ध चेतावनी दिँदै आएको छ ।
इरानी सेनाका प्रमुख अमिर हातमीले अमेरिकी सैनिकलाई पक्राउ गर्ने वा मार्नेलाई पुरस्कार दिने घोषणा गरेकाे बताइएको छ । यसले दुई देशबिचको तनावपूर्ण बयानबाजीलाई थप चर्काएको छ ।
इरानको आणविक कार्यक्रमलाई लिएर दीर्घकालीन सहमति कायम गर्ने उद्देश्यले भइरहेका कूटनीतिक प्रयासले पनि अहिलेसम्म ठोस सफलता हासिल गर्न सकेका छैनन् ।
ग्रीनले ट्रम्पलाई समग्र रूपमा समर्थन गर्दै आए पनि इरानसम्बन्धी उनको विदेश नीतिको आलोचना गर्दै आएकी छन् । सन् २०२५ जुनमा इरानी आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणपछि ग्रीनले ट्रम्प प्रशासनले विदेशी सैन्य हस्तक्षेप र सत्ता परिवर्तनसम्बन्धी अभियानबाट टाढा रहने आफ्नो चुनावी प्रतिबद्धता त्यागेको आरोप लगाएकी थिइन् ।
पछिल्लो दाबीले ग्रीनलाई फेरि ट्रम्प प्रशासनको विदेश नीतिसँग असहमत पक्षमा उभ्याएको छ । तर उनले आफूलाई ट्रम्पको समर्थकका रूपमा प्रस्तुत गर्न भने छाडेकी छैनन् ।
यस क्षेत्रमा सैन्य तनाव बढिरहेको भए पनि अमेरिकाले इरानविरुद्ध सामरिक वा रणनीतिक आणविक हतियार प्रयोग गर्ने नीति अपनाएको कुनै आधिकारिक सङ्केत सार्वजनिक भएको छैन । त्यसैले ग्रीनको आणविक हतियार प्रयोगसम्बन्धी पछिल्लो दाबी हालसम्म अप्रमाणित रहेको छ ।







