काठमाडाैँ । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् ।
सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता बर्टन सुआर पेलिता पञ्जाइतानका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको सङ्ख्या १२ हजार ८०० पुगेको छ । लगातार आएका परकम्पका कारण धेरै मानिस दोस्रो रात पनि घरबाहिरै बस्न बाध्य भएका छन् ।
भूकम्पको केन्द्रनजिकै रहेको नागेको क्षेत्रमा एएफपीले म्बे सहरका बासिन्दाले त्रिपाल र खम्बाको सहायताले अस्थायी टहरा बनाएर रात बिताइरहेको देखेको थियो । स्थानीय बासिन्दा जुनैदिनका अनुसार धेरै घर भत्किएका छन् भने बाँकी घरमा समेत चिरा परेकाले भित्र बस्न सक्ने अवस्था छैन ।
उनले पानी, कपडा र सिरानीजस्ता आवश्यक सामग्री लिन मात्र घर जाने र फेरि अस्थायी शिविरमै फर्किने बताए । राहतमा ढिलाइ भएको भन्दै उनले सरकारसँग सहयोगका लागि आग्रह गरे ।
फ्लोरेसका बासिन्दाका लागि सन् १९९२ को ७.७ म्याग्निच्युडको भूकम्पको त्रास अझै ताजा छ । त्यसबेला भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।
यसपटक इन्डोनेसियाली वायुसेनाले दुई हक्र्युलस विमान र एउटा बोइङमार्फत १३ टन आपत्कालीन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रमा रहेका बासिन्दासम्म सामग्री पुर्याउन हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
राहत सामग्रीमा खाद्यान्न, कपडा, खानेपानी र आपत्कालीन उपचारका सामग्री छन् । सेनाले प्रमुख वितरण केन्द्रमा राहत व्यवस्थापनका लागि कर्मचारीसमेत परिचालन गरेको छ ।
तर प्रभावित बासिन्दाले राहत अझै पर्याप्त रूपमा नपुगेको गुनासो गरेका छन् । तीन सन्तानकी आमा म्बेकी ३१ वर्षीया सिती सौदाह दासोले आफूहरूले लगाएको कपडाबाहेक केही पनि लिएर घरबाट निस्कन नपाएको बताउँदै सरकारी सहयोगको प्रतीक्षा गरिरहेको जानकारी दिए ।
उद्धार तथा खोजी अधिकारी फतुर रहमानका अनुसार उद्धार टोलीले स्थल र हवाई दुवै माध्यमबाट खोजी गरिरहेको छ । बेपत्ता भएको सूचना नआए पनि सम्भावित प्रभावित क्षेत्रमा खोजी जारी राखिएको उनले बताए ।
भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटमा रहेको र भूकम्प तुलनात्मक रूपमा सतहमै गएको भूगर्भीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा अग्ला भवनको सङ्ख्या निकै कम रहेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार टापुमा कम्तीमा ९१४ घरमा गम्भीर क्षति पुगेको छ भने सयौँ घरमा सामान्य क्षति भएको छ । विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयसहित दर्जनौँ सार्वजनिक भवनसमेत प्रभावित भएका छन् ।
बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार आठ हजारभन्दा बढी बालबालिका सुरक्षा जोखिम र शिक्षामा अवरोधको अवस्थामा छन् ।
इन्डोनेसिया प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प जाने क्रम सामान्य छ । सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा विश्वभर करिब दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । इन्डोनेसियामा मात्रै करिब एक लाख ७० हजार मानिसले ज्यान गुमाएका थिए । उक्त घटनालाई आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एक मानिन्छ । रासस







