काठमाडाैँ । उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण १९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको फिलिपिन्स सरकारले मङ्गलबार जनाएको छ । सरकारका अनुसार चार जना अझै बेपत्ता रहेका छन् ।
फिलिपिन्स राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) ले मङ्गलबार आएको भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको भएको बताएको छ । एनडिआरआरएमसीका अनुसार बेङ्गुएट प्रान्तमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ भने रिजालमा चार र बटाङ्गासमा तीन जनाको मृत्यु भएको छ।
देशका ११ वटा क्षेत्रका करिब २२ लाख ७० हजार मानिस प्रभावित भएको एनडिआरआरएमसीले जनाएको छ। करिब ९५ हजार मानिसलाई सुरक्षित आश्रय दिनका लागि ९०० भन्दा बढी सहयोगी केन्द्रहरू स्थापना गरिएको छ।
एनडिआरआरएमसीका अनुसार फिलिपिन्स सरकारले प्रभावितहरुलाई सात करोड ३० लाखभन्दा बढी सहयोग प्रदान गरिसकेको छ। रासस







