Khabar Out
नाइजेरियामा ५२ जना अपहृत

उत्तरपश्चिम नाइजेरियाको जामफारा राज्यमा बन्दुकधारी समूहले एक सैन्य चौकीमाथि आक्रमण गरेपछि गाउँमा छापा मार्दै बालबालिकासहित कम्तीमा ५२ जनालाई अपहरण गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । अपहरणको यो घटनाले राज्यमा बढ्दो सुरक्षा सङ्कटलाई पुनः उजागर गरेको छ ।

स्थानीय स्रोतका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले शनिबार मध्यरातदेखि आइतबार बिहानसम्म कुरा नमोदा स्थानीय प्रशासनअन्तर्गतको कासुवार दाजी गाउँमा धावा बोलेका थिए । उनीहरूले सुरुमा गाउँबाहिर रहेको सैन्य चौकीमा आक्रमण गरी त्यहाँबाट हतियार कब्जा गरेका थिए । साथै सैन्य गस्तीमा प्रयोग हुने सवारीसाधनमा आगजनी गरेपछि गाउँभित्र प्रवेश गरेर घर–घरमा पुग्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीय बासिन्दा शेहु अब्दुल्लाहीका अनुसार आक्रमणकारीहरूले सुरुमा १०० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएका थिए । केहीलाई पछि मुक्त गरिए पनि अन्ततः ५२ जनालाई साथ लगिएको छ । 

अर्का स्थानीय बासिन्दा अहमद उस्मानले पनि बन्दुकधारीहरूले घर–घरमा पुगेर मानिसहरूलाई अपहरण गरेको जानकारी दिए । उनका अनुसार आफ्ना दुई छोराका पत्नी र परिवारका दुई किशोरी सदस्य पनि अपहरणमा परेका छन् ।

स्थानीय अल्हाजी इब्राहिम मुसाले आक्रमणकारीहरूले गाउँमा रहेको सैन्य चौकीलाई नियन्त्रणमा लिएर त्यसपछि गाउँमा प्रवेश गरेको बताए । 

नाइजेरियाली सेनाका प्रवक्ता ओलानी ओसोबाले सेनाले सैन्य चौकीमाथिको आक्रमणलाई अन्ततः विफल पारेको दाबी गरे । उनका अनुसार आक्रमणका क्रममा एक सैनिक र एक प्रहरीको मृत्यु भएको छ भने आक्रमणकारीहरूले केही स्थानीय बासिन्दालाई अपहरण गरेर लगेका छन् । सेनाले घटनाका लागि ‘आतङ्ककारी’ समूहलाई जिम्मेवार ठहर गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update