काठमाडाैँ। उत्तरी पाकिस्तानको स्वात जिल्लामा प्रदर्शनका क्रममा प्रहरी चौकी नजिकै व्यस्त क्षेत्रमा आत्मघाती बम हमला भएको छ। हमलाबाट ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका प्रहरीले आइतबार बताएको छ।
“आक्रमणकारीले आफ्नो ‘विस्फोटक भेस्ट’ पड्काए, जसबाट चार प्रहरी अधिकारीसहित ९ जनाको मृत्यु भयाे र २० जना घाइते भए,” स्वातका प्रहरी उपमहानिरीक्षक फिदा हुसेनले एएफपीसँग भने।
“विस्फोट स्वातको प्रहरी चौकी नजिकैको व्यस्त चोकमा नागरिक समाजको प्रदर्शनका क्रममा भएको थियो”, हुसेनले भने,“घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ।”
“आत्मघाती बम हमलाकारीले चोकमा रहेको प्रहरी चौकीभित्र पस्न खोजेका थिए, तर मुख्य गेटमा प्रहरीले रोकको उनले बताए।
यो आक्रमण पाकिस्तानको उत्तरी सीमावर्ती प्रान्त खैबर पख्तुनख्वामा भएको हो,जहाँ अधिकारीहरू तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को बढ्दो विद्रोहविरुद्ध लडिरहेका छन्।
कुनै समूहले तत्काल जिम्मेवारी लिएको छैन। सैन्य प्रवक्ताले शुक्रबार बताएअनुसार यस वर्ष आतङ्कवादी आक्रमण र त्यसपछिका अभियानमा ८१९ सुरक्षाकर्मी तथा नागरिकको मृत्यु भएको छ।
पाकिस्तानले यसपहिले सीमावर्ती प्रान्तहरूको हिंसालाई अफगानिस्तानबाट आउने आतङ्कवादसँग जोड्ने गरेको छ। काबुलको तालिबान सरकारले अफगान संलग्नता अस्वीकार गरेको छ। रासस







