Khabar Out
गुरुपूर्णिमाको अवसरमा ‘गुरुतत्त्व महिमा’ विषयक विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा दक्षिणकाली–१, बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा ‘गुरुतत्त्व महिमा तथा गुरुपूर्णिमाको महत्त्व’ विषयक विशेष धार्मिक तथा वैचारिक कार्यक्रम सम्पन्न भएको छ । गुरुपूर्णिमा २०८३ को अवसरमा महर्षि महेश योगी तथा उहाँका गुरु जगद्गुरु शंकराचार्य ब्रह्मानन्द सरस्वतीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, विद्वान्, ध्यान साधक तथा स्वदेश–विदेशका भावातीत ध्यान शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ भावातीत ध्यान शिक्षक तथा सिद्धि प्रशिक्षक माधव अर्याल, चेतना भूषाल, मिनराज अधिकारी, विमला पौडेल, सोमनाथ गर्तौला, डिल्लीराम अधिकारी, भरतराज पौडेल, वसुन्धरा पन्थी, भूपेन्द्र निराजन, विष्णु पौडेल र अभिमन्यू नेपाललगायतका शिक्षकहरूले वैदिक विधिअनुसार सामूहिक गुरुपूजन गरी गरेका थिए । वैदिक मन्त्रोच्चारणसहित सम्पन्न गुरुपूजनले सम्पूर्ण वातावरणलाई आध्यात्मिक र भक्तिमय बनाएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै भावातीत ध्यान शिक्षक तथा चेतनामा आधारित शिक्षाका निर्देशक मिनराज अधिकारीले गुरु परम्पराको महत्त्व र सामूहिक गुरुपूजनको परम्पराबारे चर्चा गरेका थिए । त्यसैगरी भावातीत ध्यान शिक्षक माधव अर्यालले चार्टमार्फत भावातीत ध्यानको धार्मिक तथा वैज्ञानिक पक्ष प्रस्तुत गर्दै ध्यानले मानसिक शान्ति, स्वास्थ्य र चेतना विकासमा पुर्‍याउने योगदानबारे जानकारी दिएका थिए ।

कार्यक्रमका मुख्य वक्ता वाल्मीकि विद्यापीठका उप–प्राध्यापक डा. रामप्रसाद पौडेल (रामतीर्थ शास्त्री) ले न्याय शास्त्र, आगम र निगमका आधारमा गुरु परम्पराको महिमाबारे विस्तृत व्याख्या गरेका थिए । उनले १६ कला, १६ संस्कार, व्यायामको महत्त्व तथा महर्षि महेश योगीको ‘नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने अवधारणाबारे चर्चा गरेका थिए । गुरुको भूमिकाबारे स्पष्ट पार्दै उनले धमिलो पानीमा फिटकिरी हालेर पानी सङ्लो हुने उदाहरण प्रस्तुत गर्दै गुरुले शिष्यको जीवनलाई ज्ञान र चेतनाले उज्यालो बनाउने बताए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल, विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारी तथा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले गुरु परम्परा, वैदिक संस्कृति, संस्कृत शिक्षा तथा वैदिक ज्ञान संरक्षणमा यस्ता कार्यक्रमको महत्त्वबारे धारणा राखेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले ‘जरामा पानी हालौँ, फलको आनन्द लिऔँ’ भन्ने सन्देशसहित नियमित भावातीत ध्यान गर्न सबैलाई आग्रह गरेका थिए । साथै उनले सन् २०३० मा नेपालमा दोस्रो वैदिक तथा वैज्ञानिक महासम्मेलन आयोजना गरिने घोषणा गरेका थिए ।

सो अवसरमा संस्थाप्रति योगदान पुर्‍याएको भन्दै मिनराज अधिकारी र विमला पौडेल अधिकारीलाई नेपाल महर्षि वैदिक फाउण्डेसनको ‘मानार्थ आजीवन सदस्यता’ प्रदान गरी सम्मान गरिएको थियो । अत्यन्त भव्य, सभ्य तथा आध्यात्मिक वातावरणमा सम्पन्न कार्यक्रम धन्यवाद ज्ञापन, समापन घोषणा तथा प्रसाद वितरणसँगै सम्पन्न भएको थियो । कार्यक्रमको शुभारम्भ वैदिक विधिअनुसार सामूहिक गुरुपूजनबाट गरिएको थियो ।

कार्यक्रममा पूर्व सचिव भीमप्रसाद उपाध्याय, विभिन्न क्षेत्रका विद्वान्, ध्यान साधक तथा स्वदेश–विदेशका भावातीत ध्यान शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update