काठमाडाैँ । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न सोमबार माग गरेको छ ।
परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध प्रदर्शन गर्दै आएको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ।
“पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुनेछ,” समूहले विज्ञप्तिमार्फत जनाएको छ। उसले आफ्ना माग पूरा नभए थप आवश्यक कदम चाल्ने चेतावनीे दिएको छ।
प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र अन्य अनियमितता दोहोरिएको भन्दै विद्यार्थी तथा युवामा असन्तुष्टि बढिरहेका बेला शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको दुई दिनपछि आन्दोलनकारी समूहको उक्त माग आएको हो ।
प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासन अधिकारीले दिए पनि सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको सीजेपीको आरोप छ । ३० वर्षीय जनसम्पर्क विषयका स्नातक अभिजित दिपकेले मे महिनामा सुरु गरेको उक्त आन्दोलनले सामाजिक सञ्जालमा ठूलो समर्थन पाएको जनाइएको छ ।
प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै गत साता नयाँदिल्लीसहित विभिन्न सहरमा मुख्यतः विद्यार्थीको सहभागितामा प्रदर्शन भएका थिए ।
जुलाई २० मा नयाँदिल्लीमा भएको प्रदर्शनले उग्र रूप लिएको थियो। प्रदर्शनकारीले जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो । त्यसक्रममा झडप हुनुका साथै धेरै प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो।
सोमबार संसद्मा पनि उक्त विषयले प्रवेश पाएको थियो। विपक्षी सांसदले गत साता प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै पटकपटक सदनको कामकारबाही अवरुद्ध गरेका थिए।
अवरोधबीच सरकारले तल्लो सदनमा परीक्षाको प्रश्नपत्र चुहावटमा सङ्गलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक प्रस्तुत गरेको छ। रासस







