चिनियाँ राष्ट्रपति सी जिनफिङले कृत्रिम बौद्धिकता (एआई) को विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउँदै यसको सुरक्षित, समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन (डब्लुएआइसी) को उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले एआईलाई प्रतिस्पर्धाको नभई सहकार्यको माध्यम बनाउनुपर्नेमा जोड दिए ।
“एआईको विकास कुनै एक देशको एकल प्रदर्शन होइन, अन्तर्राष्ट्रिय सहकार्यको सिम्फनी हुनुपर्छ,” राष्ट्रपति सीले भने । उनले राष्ट्रिय सुरक्षाको नाममा एआई क्षेत्रमा विभाजन सिर्जना गर्ने वा कुनै एक देशको सुरक्षालाई अन्य देशको भन्दा माथि राख्ने प्रवृत्तिको संयुक्त रूपमा विरोध गर्नुपर्ने धारणा पनि राखे ।
चिनियाँ एआई मोडेलहरूले कम लागत र प्रतिस्पर्धी क्षमताका कारण विश्व बजारमा प्रभाव बढाइरहेका बेला अमेरिका र युरोपेली सङ्घ (इयु) ले भने राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । उन्नत चिप, उच्चस्तरीय कम्प्युटिङ पूर्वाधार र अत्याधुनिक एआई प्रविधिमा पहुँचलाई लिएर अमेरिका र प्रमुख एआई कम्पनीहरूबीच पनि बहस तीव्र बन्दै गएको छ ।
प्रविधि विश्लेषण संस्था हेलो चाइना टेकका विश्लेषक पो झाओका अनुसार डब्लुएआइसी चीनको एआई उद्योगको दिशा बुझ्ने सबैभन्दा महत्त्वपूर्ण वार्षिक मञ्च हो । उनले अमेरिका अझै उन्नत चिप, उच्चस्तरीय कम्प्युटिङ क्षमता र ठूलो लगानीमा आधारित एआई विकासमा अग्रणी रहे पनि चीन त्यसको सबैभन्दा नजिकको र व्यापक प्रतिस्पर्धीका रूपमा उभिएको बताए ।
चारदिने सम्मेलनमा एक हजारभन्दा बढी चिनियाँ प्रविधि कम्पनी सहभागी भएका छन् । सम्मेलनमा एआई कम्प्युटिङका लागि अत्याधुनिक सेमिकन्डक्टर प्रणाली, स्वायत्त रूपमा काम गर्न सक्ने स्मार्टफोन, एआई एजेन्ट तथा करिब तीन हजार नयाँ प्रविधि उत्पादन प्रदर्शनमा राखिएका छन् ।
राष्ट्रपति सीले एआईको विकास सधैँ मानव नियन्त्रणमै रहने सुनिश्चित गर्न कानूनी व्यवस्था, प्राविधिक निगरानी, प्रारम्भिक चेतावनी प्रणाली र आपत्कालीन प्रतिक्रिया संयन्त्र आवश्यक रहेको बताए । उनले एआई विकासलाई ‘जनकेन्द्रित’ बनाउनुपर्नेमा पनि जोड दिए ।
यसअघि बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यी तथा रुस, पाकिस्तान, इन्डोनेसियासहित २९ देशका प्रतिनिधिले अन्तरसरकारी एआई सहकार्य समूह स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । साङ्घाईस्थित विश्व आर्टिफिसियल इन्टेलिजेन्स सहयोग सङ्गठनमार्फत एआईको स्वस्थ, सुरक्षित र व्यवस्थित विकासका लागि सदस्य राष्ट्रबीच परामर्श र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, कम्बोडियाका प्रधानमन्त्री हुन मानेट तथा थाइल्यान्डका उपप्रधानमन्त्री अनुटिन चार्नविराकुललगायत अन्तर्राष्ट्रिय नेताहरू सहभागी छन्।
यसैबीच बेइजिङस्थित स्टार्टअप कम्पनी मूनशट एआईले शुक्रबार ‘किमी के–३’ नामक नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । यसको क्षमता केही प्रमुख अमेरिकी एआई मोडेलसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ ।
यस वर्षको डब्लुएआइसीमा मिनीम्याक्सको एम–३ मोडेल, स्वायत्त एआई एजेन्टयुक्त पहिलो व्यावसायिक स्मार्टफोन तथा ह्वावेको ‘एटलस ९५० सुपरनोड’ एआई प्रणाली पनि प्रमुख आकर्षण बनेका छन् । विश्लेषक झाओका अनुसार अब एआईको विकास केवल मोडेल निर्माणमा सीमित नरही दैनिक जीवनमा व्यापक प्रयोग हुने प्रणालीतर्फ केन्द्रित हुँदै गएको छ ।
चीनले चिप उत्पादनदेखि उपभोक्तास्तरसम्मको सम्पूर्ण एआई पारिस्थितिकी प्रणाली विकासलाई औद्योगिक नीतिको रणनीतिक प्राथमिकताका रूपमा अघि बढाएको छ । सरकारी तथ्याङ्कअनुसार चीनमा एआई प्रयोग मापन गर्ने ‘टोकन’ को दैनिक खपत पछिल्ला दुई वर्षमा एक हजार गुणाले बढेको छ ।
चिनियाँ एआई बजारको आकार सन् २०२५ मा १२० खर्ब युआन (एक खर्ब ७७ अर्ब अमेरिकी डलर) पुगेको थियो भने यस वर्ष ३० प्रतिशतभन्दा बढी विस्तार हुने अनुमान गरिएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का अनुसार सन् २०२४–२५ बीच एआईसँग सम्बन्धित ४३ हजारभन्दा बढी पेटेन्ट दर्ता भएका छन् ।
कम लागत, उच्च कार्यक्षमता र खुला स्रोत प्रणालीका कारण सिमेन्सलगायत अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि चिनियाँ एआई मोडेल अपनाउन थालेका छन् । यसलाई ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीका बन्द प्रणालीको विकल्पका रूपमा हेरिन थालेको छ । रासस







