Khabar Out
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?

चितवन । बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जंगली ध्रुवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस सुरु भएको छ। विज्ञहरूले हात्तीले रिस साँध्ने भए पनि कति समयसम्म रिस साँध्छ सक्छ भन्ने विषयमा भने स्पष्ट निष्कर्ष निकाल्न सकेका छैनन्। 

ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा आमा–छोराको ज्यान लिएको थियो। शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको थियो।

पुनु बोटेका हजुरबा र हजुरआमालाई यही ध्रुवे हात्तीले २०६९ सालमा माडीको द्रौपतीनगरमा यसरी नै आक्रमण गरेर मारेको थियो। केराबारीको बीचमा खरको सानो घर भएका बोटे दम्पतीको ध्रुवेले आक्रमण गरी मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। एकै परिवारका चार जनाको १४ वर्षको अन्तरमा ज्यान लिएपछि हात्तीले प्रतिशोध लिएको त होइन भन्ने प्रश्न उठेको हो।

हात्तीका विषयमा विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले हात्तीले आफूप्रति नकारात्मक व्यवहार गर्ने मानिस पहिचान गरेर आक्रमण गर्ने गरेको बताए।

उनले भने, “हात्ती अत्यन्तै बुद्धिमान प्राणी भएकाले आफूलाई चोट पुर्‍याउने वा नकारात्मक व्यवहार गर्ने व्यक्तिलाई चिन्न सक्छ।” उनले हात्तीले ‘इगो’ वा ‘रिस’ राख्न सक्ने व्यवहार देखाए पनि त्यसलाई पुस्तान्तरण हुने वैमनस्यताको रूपमा व्याख्या गर्न नमिल्ने बताए।

उनले हात्तीलाई कसैले ढुंगा हाने, दुःख दियो वा सतायो भने उसले त्यही व्यक्तिलाई लक्ष्य बनाएर आक्रमण गर्न सक्ने बताउँदै भने, “तर एउटा पुस्तापछि अर्को पुस्तालाई त्यही कारणले आक्रमण गर्छ भन्ने आधार छैन। यस्तो सम्बन्ध पुष्टि गर्ने प्रमाण भेटिएको छैन।”

रामले हात्तीले मानिसको व्यवहार र भावनासमेत बुझ्न सक्ने क्षमता राख्ने बताए। निकुञ्जमा लामो अनुभवसँगै अध्ययन गरेका उनले भने, “त्यसैले नकारात्मक व्यवहार गर्ने व्यक्तिलाई पहिचान गरेर प्रतिक्रिया दिन सक्ने सम्भावना रहन्छ।”

उनले निकुञ्जमा भएको एउटा घटनाको उदाहरण दिँदै भने, “एक जना गेम स्काउटले हात्तीलाई ढुंगा हानेका थिए। त्यसको भोलिपल्ट हात्ती आएर उसैको कोठा खोज्दै झ्याल फुटाउने, सामान फाल्ने काम गर्‍यो, अरूलाई भने केही गरेन।” यसले हात्तीले आफूलाई दुःख दिने व्यक्तिलाई सम्झन सक्ने देखाएको उनले बताए।

हात्तीलाई दुःख दिएपछि क्षमा पूजा गरिएको जनाउँदै उनले त्यसपछि मात्रै उक्त व्यक्ति बसेको कोठामा हात्ती आउन छाडेको बताए। हात्तीले आफू नजिक रहेको व्यक्तिले आफूप्रति कस्तो सोचेको छ भन्ने बुझ्न सक्ने क्षमता भएकाले यसलाई गणेशका रूपमा समेत पूजा गर्ने गरिएको उनले बताए।

राष्ट्रिय निकुञ्जहरूमा प्रमुख संरक्षण अधिकृतका रूपमा लामो समय अनुभव संगालेका हात्तीविज्ञ डा. नरेन्द्रमानबाबु प्रधानले पनि हात्तीले रिस राख्न सक्ने सम्भावना स्वीकार गरे। केही घटनाले त्यस्तो संकेत गरे पनि सीमित घटनाका आधारमा निश्चित निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ। हात्तीले रिस संगाल्ने भए पनि लामो समयसम्म रिस राख्ने विषयमा यकिन गर्न नसकिएको उनले बताए।

उनले भने, “हात्तीले रिस साँध्न सक्छ भन्ने देखिन्छ। तर कुनै एउटा घटनालाई आधार बनाएर १४ वर्षपछि पनि त्यही परिवारमाथि आक्रमण गर्‍यो भनेर ठोकुवा गर्न गाह्रो हुन्छ।”

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीको स्मरणशक्ति बलियो हुने भएकाले आफूलाई दुःख दिने व्यक्तिप्रति रिस राख्ने व्यवहार देखाउने गरेको बताए। उनले माउतेमाथि हात्तीले गरेको आक्रमणका घटना चितवन, बर्दियालगायतका स्थानमा भएको उल्लेख गरे।

उनले भने, “हात्तीले बाटो, स्थान र व्यक्तिसमेत सम्झने क्षमता राख्छ। त्यसैले रिसको व्यवहार देखिन सक्छ। तर एउटै परिवारका पुस्तामाथि आक्रमण गर्नुको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन।”

हात्ती हिँडडुल गरिरहने क्षेत्रमा घर भएका कारण पनि ती क्षेत्रमा हात्तीको आक्रमण भइरहेको उनको भनाइ छ। बोटे परिवारको माडी र भरतपुरको बेलहट्ठामा रहेका दुवै घर हात्ती हिँड्ने क्षेत्रमा पर्ने भएकाले यो संयोग भएको हुन सक्ने उनले बताए। यद्यपि आफूलाई हानि पुर्‍याउन खोज्ने मानिसमाथि हात्तीले आक्रमण गर्ने उनको भनाइ छ।

हात्ती प्रजनन एवं तालिम केन्द्र सौराहाका प्रमुख मणिपुरण चौधरीले हात्ती रिसाहा स्वभावको हुने बताए। आफ्नो हजुरबा, बुबा, आफू र छोरासमेत हात्ती प्रजनन केन्द्रमा काम गर्दै आएको उल्लेख गर्दै उनले रिस उठेपछि आफ्नै माउतेलाई पनि हात्तीले नछाड्ने उदाहरण दिए।

उनले भने, “हात्ती रिसाहा स्वभावको हुन्छ। आफूलाई नराम्रो गर्ने व्यक्तिलाई अवसर हेरेर आक्रमण गर्न सक्छ।”

झन्डै १८ वर्षअघिको एउटा घटना स्मरण गर्दै उनले माउते गोदीलाल चौधरीलाई निकुञ्जले पालेको वीरेन्द्रप्रसाद हात्तीले निकुञ्जभित्र आक्रमण गरेर मारेको बताए। यस्ता घटना अधिकांश निकुञ्जमा हुने गरेको भन्दै उनले घरपालुवा हात्तीसमेत रिसाउँदा क्रूर हुने र जंगली हात्ती झन् आक्रामक तथा रिस साँध्ने स्वभावको हुने बताए।

बच्चा हात्तीमा समेत चर्को रिस हुने उनले बताए। उनले भने, “तालिम दिने क्रममा पनि सुरुमा निकै रिसाउँछ। फकाएर, समय दिएर मात्र तालिम दिन सकिन्छ। आफूलाई दुःख दिने व्यक्तिलाई भने उसले सम्झेर आक्रमण गर्न सक्छ।”

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update