Khabar Out
सुन्दरीजलमा सडक बने पनि सरसफाई चुनौती बन्दै छ : निमा शेर्पा

काठमाडौं । राजधानी काठमाडौंबाट करिब १५ किलोमिटर टाढा रहेको सुन्दरीजल प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र पर्यटकीय आकर्षणका कारण परिचित छ । लामो समयसम्म पूर्वाधार विकासबाट पछि परेको यो क्षेत्र अहिले सडक सञ्जालसँग जोडिएको छ । तर सडक पुगेसँगै सरसफाइ र फोहोर व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको भन्दै विकासप्रेमी निमा शेर्पाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

शेर्पाका अनुसार एक समय मुलखर्क–सुन्दरीजल–चिसोपानी पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणमा कानुनी तथा प्रशासनिक चुनौती हुँदाहुँदै २०५७ सालतिर आफ्नै अग्रसरतामा मुलखर्कदेखि सुन्दरीजलसम्म सडक निर्माण अभियान सुरु गरिएको उनले बताए । त्यसपछि सुन्दरीजल–चिसोपानी सडक विस्तारमा दीपक केसी, राजु थापा तथा हेलम्बु योजनामार्फत निमा ग्याल्जेङ शेर्पालगायतको पनि योगदान रहेको उनले उल्लेख गरे ।

उनका अनुसार अहिले उक्त सडकमा साना तथा ठूला सवारीसाधन सञ्चालन भइरहेका छन् । सडक निर्माणपछि करिब २,५०० भन्दा बढी स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ भने पिकनिक, धार्मिक भ्रमण र पदयात्राका लागि आउने पर्यटकको संख्या पनि बढेको छ ।

शेर्पाले सुन्दरीजल प्राकृतिक झरना, हरियाली वन, स्वच्छ हावा, शिवपुरी राष्ट्रिय निकुञ्ज तथा सुन्दरीमाई मन्दिरका कारण महत्वपूर्ण पर्यटकीय र धार्मिक गन्तव्य भएको बताए। प्रत्येक वर्ष साउन महिनामा लाग्ने मेला र बोलबम यात्राले पनि यस क्षेत्रको महत्व बढाएको उनको भनाइ छ ।

तर सडक बने पनि सरसफाइको समस्या अझै समाधान हुन नसकेको शेर्पाको गुनासो छ । बागमती नदीको मुहान तथा काठमाडौं उपत्यकाको खानेपानीको प्रमुख स्रोत रहेको यस क्षेत्रमा पर्याप्त शौचालय र फोहोर व्यवस्थापनको व्यवस्था नहुँदा वातावरणीय चुनौती बढ्दै गएको उनले बताए ।

उनका अनुसार करिब ४०० घरधुरी रहेको क्षेत्रमा आर्थिक अभावका कारण धेरै परिवारले अझै व्यवस्थित शौचालय निर्माण गर्न सकेका छैनन् । खुला स्थान तथा खोल्सामा दिसापिसाब गर्ने अवस्था पूर्ण रूपमा अन्त्य हुन नसकेको भन्दै यसले बागमतीको मुहान क्षेत्रको स्वच्छतामा समेत असर पुर्याएको उनले बताए ।

त्यस्तै, दैनिक घुम्न आउने पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालयको अभाव रहेको र फोहोर व्यवस्थापन पनि प्रभावकारी हुन नसकेको शेर्पाले बताए । शिवपुरी राष्ट्रिय निकुञ्जबाट प्रवेश शुल्क संकलन हुने भए पनि सरसफाइ, सार्वजनिक शौचालय र पर्यटकमैत्री पूर्वाधार विस्तारमा अपेक्षित लगानी हुन नसकेको उनको भनाइ छ ।

शेर्पाले अब सडक निर्माणसँगै सरसफाइ, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन, खानेपानी स्रोत संरक्षण र सडक स्तरोन्नतिमा सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । प्राकृतिक सम्पदा, धार्मिक महत्व र पर्यटनको अपार सम्भावना बोकेको सुन्दरीजललाई योजनाबद्ध र दिगो विकाससँग जोड्न सके राजधानी नजिककै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित गर्न सकिने उनको विश्वास छ ।

पर्यटन र धार्मिक महत्व

सुन्दरीजल प्राकृतिक झरना, हरियाली वन, स्वच्छ हावा, पहाडी दृश्य र शिवपुरी राष्ट्रिय निकुञ्जका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । सुन्दरीजल, चिसोपानी र पार्टीभञ्ज्याङ क्षेत्र पदयात्राका लागि विशेष लोकप्रिय छन् ।
यस क्षेत्रको अर्को महत्वपूर्ण आकर्षण सुन्दरीमाई मन्दिर हो । प्रत्येक वर्ष साउन महिनामा यहाँ भव्य मेला लाग्ने गर्दछ। “बोलबम” यात्राका लागि समेत यो क्षेत्र प्रसिद्ध रहेको छ ।

दुर्गन्ध र सरसफाइको गम्भीर समस्या

विकासको नयाँ आयाम थपिए पनि सुन्दरीजलले अझै एउटा ठूलो समस्या झेलिरहेको छ(सरसफाइको अभाव ।
बागमती नदीको मुहान तथा काठमाडौं उपत्यकाको खानेपानी स्रोतका रूपमा परिचित सुन्दरीजल क्षेत्रमा उचित शौचालय र फोहोर व्यवस्थापनको अभाव देखिन्छ । स्थानीयवासीका अनुसार करिब ४०० घरधुरी रहेको क्षेत्रमा अझै पनि ठूलो संख्यामा मानिसले आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहनुपरेको छ ।

स्थानीयहरूका अनुसार आर्थिक अभाव र सरकारी सहयोग नपुग्दा धेरै परिवारले व्यवस्थित शौचालय निर्माण गर्न सकेका छैनन् । खुला स्थान तथा खोल्सामा दिसापिसाब गर्ने बाध्यता अझै कायम रहेको गुनासो उनीहरूको छ । यसले बागमतीको मुहान क्षेत्रको वातावरणीय स्वच्छतामाथि समेत प्रश्न उठाएको छ ।

त्यसैगरी, दैनिक घुम्न तथा पिकनिकका लागि आउने आगन्तुकहरूका लागि पर्याप्त सार्वजनिक शौचालयको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क संकलन भए पनि आधारभूत सरसफाइ र पर्यटकमैत्री पूर्वाधार विस्तारमा पर्याप्त ध्यान नपुगेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update