दाङ। दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४१ लाख रुपैयाँ मात्रै उठेको हो ।
भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी हो ।
कार्यालयका अनुसार साउनमा १३ लाख रुपैयाँ लक्ष्य रहेकामा ११ लाख, भदौमा १४ लाख ८९ हजार लक्ष्य रहेकामा ८ लाख ४० हजार र असोजमा १६ लाख लक्ष्य रहेकामा ८ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० रुपैयाँ र मोटरसाइकलबाट २०० रुपैयाँ राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व सङ्कलन हुने गरेको छ ।
दाङ, रोल्पा र प्युठानबाट दूरीका हिसाबले छोटो भए पनि कोइलाबास नाका व्यावसायिक कारोबारका लागि आकर्षक बन्न सकेको छैन । सडक सञ्जालमा सुधार भए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।
सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको न्यून सङ्ख्या र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ । रासस







