नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्यले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजवंशीले बताउनुभएको छ । शिक्षा क्षेत्रमा देखिएको विकृति, निजी विद्यालयको शुल्क, सरकारी विद्यालयको कमजोर अवस्था, समयसापेक्ष पाठ्यक्रमको अभाव तथा विद्यार्थीमा घट्दै गएको जिम्मेवारीबोधलगायतका समस्या राज्यको कमजोर नियमन र राजनीतिक संरक्षणका कारण बढ्दै गएको उहाँको धारणा छ ।
२०१८ सालमा काठमाडौंको इन्द्रचोकमा स्वर्गीय पिता लक्ष्मण राजवंशी र माता शोभना राजवंशीको कोखबाट जन्मिनुभएका राजवंशी विगत चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ । २०४२ सालदेखि सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट अध्यापन सुरु गर्नुभएका उहाँले एमबीएसम्मको अध्ययन गर्नुभएको छ । करिब दुई दशकदेखि विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आउनुभएका राजवंशीले विद्यालय व्यवस्थापनसम्बन्धी तालिम जर्मनीमा समेत लिनुभएको छ । सफल व्यवसायी बन्ने लक्ष्य भए पनि शिक्षाविद् पिता लक्ष्मण राजवंशीको प्रेरणाबाट शिक्षा क्षेत्रमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध रहँदै आउनुभएका राजवंशी अहिलेको शिक्षा प्रणालीप्रति भने निकै चिन्तित हुनुहुन्छ ।
विगतमा विद्यार्थीबीच अध्ययनमा निकै कडा प्रतिस्पर्धा हुने गरेको थियो । मेहनत नगरे असफल भइन्छ भन्ने डर विद्यार्थीमा हुने थियो तर पछिल्लो समयमा मेहनत नगरे पनि उत्तीर्ण भइन्छ भन्ने मानसिकता विद्यार्थीमा विकास हुँदै गएको उहाँ बताउनुहुन्छ । यसमा अहिलेको ग्रेडिङ प्रणालीको पनि भूमिका रहेको उहाँको बुझाइ छ । विगतमा एसएलसीलाई ‘आइरन गेट’ का रूपमा लिइने गरे पनि अहिले एसईईप्रतिको विद्यार्थी तथा अभिभावकको धारणा त्यस्तो नरहेको उहाँको भनाइ छ । यद्यपि ग्रेडिङ प्रणाली नै गलत हो भन्ने आफ्नो आशय नभएको स्पष्ट पार्दै उहाँले प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
त्यस्तै राजवंशीले सरकारी विद्यालयको गुणस्तर सुधारमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राज्यले सरकारी विद्यालयमा ठूलो लगानी गरे पनि त्यसअनुसारको शैक्षिक उपलब्धि हासिल हुन नसकेको उहाँको भनाइ छ । सरकारी विद्यालयमा पढाउने शिक्षक–शिक्षिका तथा सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने नीतिगत व्यवस्था गर्न सके सरकारी विद्यालयको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्न सक्ने उहाँको सुझाव छ । सरकारी विद्यालयमा राम्रो पढाइ हुने वातावरण बन्ने हो भने निजी विद्यालयतर्फ जाने विद्यार्थीको संख्या आफैं घट्ने उहाँ बताउनुहुन्छ । त्यसैले अरूलाई दोष दिनुभन्दा पहिले राज्यले आफ्नै शिक्षा प्रणाली सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चार दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा बिताएका राजवंशी वर्तमान शैक्षिक पाठ्यक्रममा केही परिवर्तन भए पनि त्यो अझै समयसापेक्ष बन्न नसकेको बताउनुहुन्छ । देशको भौगोलिक अवस्था, वातावरण, आवश्यकता र बदलिँदो परिस्थितिसँग मेल खाने गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । अहिलेको शैक्षिक पाठ्यक्रमले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने बताउँदै उहाँले देशको आवश्यकताअनुसार व्यवहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नभई जीवन तथा रोजगारीमा प्रयोग गर्न सक्ने सीपसमेत हासिल गर्नुपर्ने उहाँको धारणा छ ।
सरकारी विद्यालयका विद्यार्थी अंग्रेजी भाषामा कमजोर र निजी विद्यालयका विद्यार्थी नेपाली भाषामा कमजोर हुने अवस्थाप्रति पनि राजवंशी चिन्तित हुनुहुन्छ । विशेषगरी निजी विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीलाई नेपालीमा आफ्नो नामसमेत लेख्न कठिन हुने अवस्था देखिनु दुःखद भएको उहाँ बताउनुहुन्छ । अंग्रेजी भाषालाई मात्र सर्वोपरी मान्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले नेपाली भाषाको ज्ञान र प्रयोगमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली विषयको नतिजा सरकारी र निजी दुवै विद्यालयमा सन्तोषजनक नरहेको उहाँको भनाइ छ । यस विषयमा राज्य, विद्यालय र अभिभावक सबैले जिम्मेवारीपूर्वक ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
विद्यालयमा नेपाली भाषाको शिक्षणलाई प्राथमिकता दिनुका साथै अभिभावकले पनि आफ्ना छोराछोरीको अध्ययनमा पर्याप्त चासो दिनुपर्ने उहाँको सुझाव छ । विद्यार्थीको शैक्षिक विकासमा विद्यालयको मात्र नभई घरपरिवार र राज्यको समेत महत्वपूर्ण भूमिका हुने भएकाले सबै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अंग्रेजी भाषाको ज्ञान आवश्यक भए पनि त्यसकै कारण नेपाली भाषाप्रति विद्यार्थीमा कमजोरी आउन नदिन विद्यालय तथा अभिभावक दुवै सचेत हुनुपर्ने उहाँको धारणा छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ( राजवंशी भन्नुहुन्छ । निजी विद्यालयलाई मात्र दोष दिएर शिक्षा क्षेत्र सुधार गर्न नसकिने उहाँको भनाइ छ । सरकारी विद्यालयको गुणस्तर सुधार, निजी विद्यालयको प्रभावकारी अनुगमन, छात्रवृत्तिमा पारदर्शिता, समयसापेक्ष पाठ्यक्रम निर्माण तथा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिन सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने राजवंशी बताउनुहुन्छ ।
देशको समग्र अवस्थाबारे आफ्नो धारणा राख्दै राजवंशी आफू राजनीतिकर्मी नभए पनि जिम्मेवार नागरिकको हैसियतले राजनीतिक नेतृत्वलाई पार्टीगत स्वार्थभन्दा माथि उठ्न आग्रह गर्नुहुन्छ । देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले काम गर्न सके शिक्षा क्षेत्रसहित समग्र देशको विकासले गति लिन सक्ने उहाँको विश्वास छ ।
राजनीतिक नेताहरूले पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सकून् भन्ने आफ्नो आग्रह रहेको बताउँदै राजवंशीले शिक्षा क्षेत्रलाई सुधार गर्ने जिम्मेवारी राज्य, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको भए पनि यसको नेतृत्व राज्यले नै लिनुपर्नेमा जोड दिनुभएको छ । उहाँका अनुसार शिक्षा केवल विद्यालय र विद्यार्थीको विषय नभई देशको भविष्यसँग जोडिएको विषय भएकाले यसको सुधारमा राज्यको नीति, नियमन र कार्यान्वयन प्रभावकारी हुन आवश्यक छ । शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय, व्यवहारिक र जिम्मेवार बनाउन सके मात्र देशले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सक्ने उहाँको विश्वास छ ।







