काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर’द्वारा शुक्रबार आयोजित ‘आयुर्वेद, योग तथा ध्यानमार्फत् स्वास्थ्य’शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठीको समुद्घाटन गर्दै उनले योगमार्फत जीवनशैलीजन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपतिले आयुर्वेद स्थानीय जडीबुटी तथा परम्परागत ज्ञानमा आधारित उपचार पद्धति भएको उल्लेख गर्दै रोगको पहिचान, रोकथाम तथा निदानात्मक उपचार सेवामा यसको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
“नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ”, उनले भने, “यस मूल मर्मअनुरूप आधुनिक चिकित्सासँगै आयुर्वेद, योग तथा ध्यानलाई प्रोत्साहन गर्ने सरकारी कदम सकारात्मक र दूरदर्शी छ । यसको लाभ सबैले लिन सक्नुपर्दछ ।”
विश्वव्यापी महामारी, मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा जलवायु परिवर्तनजस्ता चुनौतीको सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबिचको सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उपराष्ट्रपतिले भने, “विद्यालय, समुदाय तथा कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्नुपर्ने र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेद र योगलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।” रासस







