चितवन । माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ।
माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उनले बताए ।“गोलघरमा माडी क्षेत्रका १० वटा पर्यटकीयस्थलको नाम लेखिएको छ । अब ती नामअनुसारका तस्बिर राख्ने गरी तयारी भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने ।
गोलघरमा सोमेश्वरगढी, वैकुण्ठधाम, रामधाम, शनिधाम, विराठधुनी, गोद्धकधाम, पर्शुरामकुण्ड, वाल्मीकि आश्रम, भूमि इनार र सेवा त्रिवेणीजस्ता पर्यटकीय क्षेत्रका नाम लेखिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीलाई सेवा लिने विश्रामका साथै माडी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि नगरपालिकासँगको सहकार्यमा गोलघर बनाइएको बताए। गोलघरमा माडीका पर्यटकीय दृश्य तस्बिरमा देख्न सकिने गरी व्यवस्थापन गरिएको उनले बताए ।
“यसले सेवाग्राहीलाई विश्राम गर्न सहज हुनुका साथै माडीका पर्यटकीय गन्तव्यको प्रचार एकैसाथ भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।







