Khabar Out
७० वर्षकाे उमेरमा राममायाँले पाइन नागरिकता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवा सुविधाबाट वञ्चित भएकी थिइन् । कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गरे ।

विसं २०१३ सालमा जन्मिएकी राममायाँको एउटा हात चल्दैन । नागरिकताका आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताइन् । नागरिकता पाएपछि निकै खुसी लागेको छ,” उनले भनिन् “अब भत्ता पनि पाइने भयो ।”

राममायाले नागरिकता प्राप्त गरे लगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भर्नुभएको छ । प्रजिअ आचार्यले समाजमा अझै पनि यदाकदा, बुढेसकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख हुँदैन, भन्ने सन्देश दिनु आवश्यक देखिएको बताए ।

अठार वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत व्यवस्था छ । दुर्गम ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुःखको कुरा भएको प्रजिअ आचार्यको भनाइ छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update