Khabar Out
जलजला घोषणापत्र जारी

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण र बृहत्तर पूर्वाधार विकासका लागि ‘जलजला घोषणापत्र–२०८३’ जारी भएको छ ।

धवलागिरि गाउँपालिकाको आयोजनामा समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलामा सोमबार सम्पन्न अन्तरक्रियामा प्राकृतिक, वातावरणीय र ऐतिहासिक दृष्टिकोणले अनुपम, एवं ढोरपाटन सिकार आरक्षसँग जोडिएको जलजलाको एकीकृत विकास र प्रवर्द्धनका लागि सात बुँदे घोषणापत्र जारी भएको हो ।

घोषणापत्रले जलजलालाई पर्या–पर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

हालै मार्ग खुलेको मध्यपहाडी लोकमार्गको बागलुङ काँक्री खण्डको वैकल्पिक बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन–तकरसेरा सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन स्तरोन्नति गर्न सङ्घ र प्रदेश सरकारसँग सामूहिक पहल गरिने घोषणापत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, पदमार्ग निर्माण तथा संरक्षणमा जोड दिने योजना पनि अघि सारिएको छ । जलजला क्षेत्र ढोरपाटन सिकार आरक्षसँग जोडिएकाले संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्ने, जलजला–ढोरपाटन सर्किट ट्रेक विकास गर्ने र पश्चिम नेपाल पर्यटन सर्किटसँग जोड्ने लक्ष्य राखिएको छ ।

घोषणापत्रमा जलजला क्षेत्रको जैविक विविधता संरक्षणलाई पनि महत्त्व दिइएको छ । लालीगुराँस, चिमालको वन, बहुमूल्य जडीबुटी तथा रेडपाण्डा र कस्तुरीजस्ता दुर्लभ वन्यजन्तुको संरक्षणका लागि शून्य प्लास्टिक क्षेत्र घोषणा गर्ने र वृक्षरोपण अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, म्याग्दी, बागलुङ र रुकुमका स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत एकीकृत पर्यटन सर्किट विकास गरिने भएको छ । घोषणापत्रमा स्थानीय समुदायलाई पर्यटनसँग जोड्न सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन, स्थानीय कला, संस्कृति, वेषभूषा र परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उल्लेख छ ।

स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्र्रा, हस्तकला र जैविक उत्पादनलाई पर्यटनसँग जोडेर कोसेलीका रूपमा विकास गर्ने योजना पनि समावेश गरिएको छ । जलजला क्षेत्रमा विद्युत्, सञ्चार सेवा विस्तारका लागि पहल गर्ने तथा सञ्चारकर्मीको सहकार्यमा ‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

यसैगरी, जलजला क्षेत्रको दीर्घकालीन विकासका लागि एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट विशेष बजेट विनियोजनका लागि पहल गरिने जनाइएको छ ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीसहित ढोरपाटन शिकार आरक्षमा पर्ने, बागलुङ, पूर्वी रुकुम र म्याग्दीका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाए ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हीराकुमारी छन्त्याल, मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तयारी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले कार्यक्रम गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update