Khabar Out
मिस्त्री खोलामा माछा पाइन छाडे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्री खोलामा माछा पाइन छाडेका छन् ।

जलविद्युत आयोजना निर्माण भएपछि मिस्त्री खोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत्गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताए ।

“पहिले मिस्त्री खोलामा प्रशस्त माछा, पाहा पाइन्थ्यो, पानी सुकेपछि अहिले पाइन छाड्यो,” उनले भने “खोलामा भएको १० प्रतिशत पानी छाडेपनी सतह घटेपछि माछालगायत जलचरले वासस्थान छाड्दा रहेछन् ।”

विसं २०७७ मा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण भएपछि नारच्याङ्को दोभिल्नादेखि कालीगण्डकीको दोभानसम्म हिउँदको मङ्सिरदेखि जेठ महिनासम्म मिस्त्री खोलामा न्यून मात्रामा पानी बग्ने गर्छ । मुख्य याममै माछा पाइन छाडेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएकाले ज्याला मजदुरी र खेती किसानीको वैकल्पिक पेसा रोजेको बताउँछन् ।

बाँसबोट, नारच्याङ, पटार टोलका बासिन्दाले मिस्त्री खोलामा माछा मार्ने गरेका थिए । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बगेर आउने चिसो पानीमा हुुर्किएका मिस्त्रीखोलाका असला माछाको प्रमुख बजार पर्यटकीयस्थल भुरुङ्ग तातोपानी हो । स्थानीय माछाले माग धान्न नसकेपछि बाहिरबाट मगाउनुपरेको होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

असला माछाको स्थानीय बजार भाउ प्रतिकिलोग्राम रु एक हजार ५०० देखि एक हजार ७०० रहेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाबाट भौतिक पूर्वाधार र आर्थिक हिसाबले फाइदा पुगे पनि नदीमा पाइने जलचर पाइन छाडेको, पानीका परम्परागत मुहान सुकेर वैकल्पिक व्यवस्था मिलाउनुपरेको र वन्यजन्तुले वासस्थान छाड्ने असर देखिएको बताए ।

“हाइड्रो आएपछि सडक यातायात सुविधा, स्थानीय पूर्वाधार आयोजनामा सहयोग, प्रभावितलाई सेयर लगानीको अवसर मिल्नुका साथै केही नकारात्मक असर पनि देखिएका छन्,” उनले भने “सबैभन्दा ठुलो असर माछालगायत जलचर पाइन र नजिकका जङ्गलमा वन्यजन्तु देखिन छाडेका छन् ।”

नियमअनुसार १० प्रतिशत पानीलाई खोलामा छाड्न लगाइएको र समय समयमा अनुगमन तथा निगरानी गरिएको वडा अध्यक्ष फगामीले बताए । नारच्याङ ऊर्जा गाउँको रूपमा परिचित छ । यहाँ ७१ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी पहिलो, ४२ मेगावाटको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दीखोला, छ दशमलव पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सकिएर सञ्चालनमा आएका छन् ।

६६.५ मेगावाटको मध्य कालिगण्डकी र नौ दशमलव १२ मेगावाटको सुपर घलेम्दी निर्माणाधीन छन् । १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । १२ मेगावाट क्षमताको मिस्त्री खोला ‘क्यासकेड’ सर्वेक्षणको प्रक्रियामा छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update