कर्णाली । कालीमाटी गाउँपालिका–७ सल्यानका वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।
सल्यानको घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडि आजदेखि धर्नामा बसेका हुन् । उक्त सडक तथा टावर निर्माणको विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको भन्दै धर्नामा बस्न बाध्य भएको वडाध्यक्ष रिजालले बताए ।
सडक स्तरवृद्धि तथा कालोपत्र नहुँदा स्थानीय नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएको उनको दुःखेसो थियो। सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको र त्यहाँ पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने मागको बेवास्ता गरेकाले धर्ना बसेको उनले बताए ।
वडाध्यक्ष रिजालसँगै वडा सदस्य बिर्घाबहादुर राना पनि धर्नामा बसेका छन् । जनताको समस्या र आफ्ना मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने उनको भनाइ छ । रासस







