Khabar Out
मधेसमा कुपोषण हटाउन भान्साघरको व्यवस्थापन र बानीव्यहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री यादव

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा व्याप्त कुपोषणको समस्या समाधानका लागि नागरिकको बानीव्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन्।

मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा सोमबारदेखि सुरु गरेको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

मुख्यमन्त्री यादवले मधेसका प्रत्येक घरको भान्साघर व्यवस्थित गर्न सके कुपोषणको अवस्थामा ठूलो सुधार आउने उल्लेख गरे। खाद्य सामग्री उत्पादनका दृष्टिले मधेस अन्य प्रदेशको तुलनामा धेरै अगाडि भए पनि उत्पादित सामग्रीको सही ढङ्गले उपयोग हुन नसक्दा यहाँ कुपोषण एउटा गम्भीर समस्याका रूपमा देखिएको उनको भनाइ छ। स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खानाको सही पहिचान र प्रयोगमा जोड दिनुपर्ने उनले बताए।

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले तीनदिने शिखर सम्मेलनले मधेसमा कुपोषणका कारण देखिने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्या निदानका लागि ठोस निष्कर्ष दिने विश्वास व्यक्त गरे। मन्त्री रायले पोषणसम्बन्धी कार्यक्रमहरूको अनुगमन पाटोलाई प्रभावकारी बनाउन सम्मेलनमार्फत ठोस कार्यतालिका निर्माण गर्नुपर्ने सुझाव समेत दिएका छन्।

मधेस प्रदेश सरकारका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवका अनुसार सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी रणनीतिक निष्कर्ष निकालिनेछ। सम्मेलनमा प्रदेशका सबै पोषणसम्बद्ध सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख तथा पोषण अधिकृतहरूको सहभागिता रहेको छ।

विज्ञहरूको सुझावका आधारमा प्रदेशको आगामी पोषण रणनीति तय गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update