Khabar Out
जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ ।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

यसैबिच दिवसका अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको दिनको स्मरण गरेका छन् । उनले शुभकामनामा नाफाको न्यायोचित वितरणका लागि रोजगारदातासँग संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट श्रमजीवी वर्गको हक स्थापित गरेको उल्लेख गरे ।

“हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबिच सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ । र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ”, अध्यक्ष ओलीले भने । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update