पोर्चुगल । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो ।
त्यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने बताइएको छ ।
बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ जयन्ती मनाउन लागिएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए । कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई आग्रह गरिएको उनले बताए ।
पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको संयोजनमा बुद्ध जयन्ती मनाइँदै आइएको छ । रासस







