Khabar Out
इरानी जहाज अमेरिकी सेनाको कब्जामा, तनाव चुलियो

काठमाडौं । अमेरिकी सेनाले इरानी झन्डावाल एक पानीजहाजलाई नियन्त्रणमा लिएको घटनाले अन्तर्राष्ट्रिय तनाव फेरि चुलिएको छ। अमेरिकी पक्षका अनुसार प्रतिबन्ध उल्लंघन गर्दै इरानतर्फ अघि बढिरहेको उक्त जहाजलाई चेतावनी अटेर गरेपछि कारबाही गर्नु परेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले ‘टुस्का’ नामक जहाजलाई नियन्त्रणमा लिनुअघि चालकदललाई पटक–पटक चेतावनी दिइएको जनाएको छ । करिब ६ घण्टासम्म चेतावनी दिँदा पनि अटेर भएपछि अमेरिकी विध्वंसक जहाजले इन्जिन रुम खाली गर्न निर्देशन दिएको र त्यसपछि गोली प्रहार गरी जहाजलाई सञ्चालन अयोग्य बनाइएको सेन्टकमको भनाइ छ ।

अमेरिकाले इरानका बन्दरगाह वरिपरि लागू गरेको नाकाबन्दीपछि हालसम्म २५ वटा जहाजलाई फिर्ता पठाइएको पनि जनाएको छ ।

यता, इरानले उक्त कदमको कडा विरोध जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले यसलाई “समुद्री डकैती” को संज्ञा दिँदै अन्तर्राष्ट्रिय नियमको उल्लंघन भएको आरोप लगाएको छ । इरानी पक्षका अनुसार अमेरिकी सेनाले जहाजको नेभिगेसन प्रणालीमा क्षति पुर्‍याएको र डेकमा सैनिक उतारेर आक्रामक गतिविधि गरेको छ ।

सामाजिक सञ्जालमार्फत इरानी सेनाले घटनाको जवाफ छिट्टै दिने चेतावनी दिएको छ । “इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलहरूले यस कार्यको कडा प्रतिकार गर्नेछन्,” इरानी अभिव्यक्तिमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update