Khabar Out
हुलाकबाट घरदैलोमै सेवा

म्याग्दी। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने लक्ष्यसहित जिल्ला हुलाक कार्यालयले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ । सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले हुलाक सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न यस्तो पहल गरिएको हो। विशेषगरी राहदानीलगायत महत्वपूर्ण सरकारी कागजात घरमै पुर्‍याउने लक्ष्यलाई सफल बनाउन हल्कराको भूमिकालाई थप सुदृढ बनाउन उनीहरुलाई उत्प्रेरणा प्रदान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालयअन्तर्गत कार्यरत हल्करालाई कार्यालय प्रमुख थापा तथा शाखा प्रमुखहरुले सहजीकरण गर्दै सेवाको गुणस्तर, समय व्यवस्थापन र जिम्मेवारीबारे अभिमुखीकरण गरेकी थिइन् ।

यसैबिच उत्कृष्ट कार्यसम्पादन गर्ने हल्करा रमेश शर्मा, सबैभन्दा धेरै चिट्ठी वितरण गर्ने रघुगङ्गा गाउँपालिकाकी शोभा सुवेदी तथा पोष्ट म्यान बुक उत्कृष्ट राख्ने दिपक सुवेदी सम्मानित भएका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख थापाका अनुसार हुलाक सेवालाई सरकारी ‘कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकलाई सहज र छरितो सेवा दिनेतर्फ ध्यान केन्द्रित गरिएको छ । साथै, डाँक रेखाको पुनरावलोकनका लागि अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारले नागरिकता, राहदानीलगायत सरकारी कागजात घरघरमा पुर्‍याउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणालाई बुधबारदेखि नै म्याग्दीमा कार्यान्वयनमा ल्याइएको छ । तत्काल राहदानी सेवालाई हुलाकमार्फत सेवाग्राहीको घरदैलोमा पुर्‍याउने व्यवस्था प्रारम्भ गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update