Khabar Out
टर्कीकाे एक विद्यालयमा गोलीकाण्ड, १६ घाइते

काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गोलीकाण्डले देशमा विद्यालय सुरक्षाबारे पुनः गम्भीर चिन्ता उत्पन्न गराएको छ ।

सान्लिउर्फा प्रान्तको सिभेरेक जिल्लास्थित उक्त विद्यालयमा मङ्गलबार भएको घटनापछि सुरक्षाकर्मीहरू व्यापक रूपमा परिचालन गरिएका थिए । स्थानीय गभर्नर हसन सिल्डकका अनुसार घटनापछि विद्यालय तत्काल खाली गराइएको थियो र विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

टेलिभिजन दृश्यहरूमा त्रसित विद्यार्थीहरू भाग्दै गर्दा विद्यालय बाहिर एम्बुलेन्सहरू तैनाथ गरिएको देखिएको थियो । घटनाले आसपास क्षेत्रमा पनि भय र अफवाह फैलाएको थियो ।

गभर्नर सिल्डकका अनुसार आक्रमणकारी सन् २००७ मा जन्मिएका सोही विद्यालयका पूर्व विद्यार्थी थिए । प्रहरीद्वारा घेराबन्दी गरिएपछि उनले आफ्नै ज्यान लिएका थिए । प्रारम्भिक विवरणअनुसार उनले पम्प–एक्सन सटगन प्रयोग गर्दै विद्यालयको करिडोरमा अन्धाधुन्ध गोली चलाएका थिए ।

टर्कीको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये १० जना विद्यार्थी, चार जना शिक्षक, एक प्रहरी अधिकारी र एक क्याफेटेरिया सञ्चालक रहेका छन् । मन्त्रालयले आक्रमणकारीले घटनापछि त्यही हतियार प्रयोग गरेर आत्महत्या गरेको जनाएको छ ।

घटनापछि गभर्नर सिल्डकले विद्यालयको निरीक्षण गर्दै यसलाई अत्यन्त दुःखद घटना बताए । उनले सुरक्षासम्बन्धी सबै आवश्यक उपाय अपनाइए पनि यस्ता पृथक घटनाहरू हुन सक्ने उल्लेख गर्दै घटनाको गहिरो अनुसन्धान गरिने बताए।

टर्कीमा विद्यालयभित्र गोलीकाण्डका घटना दुर्लभ मानिन्छन् । यद्यपि, सन् २०२४ मे महिनामा इस्तानबुलमा एक पूर्व विद्यार्थीले निष्कासन गरिएको पाँच महिनापछि निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या गरेको घटना सार्वजनिक भएपछि विद्यालय सुरक्षाबारे देशव्यापी बहस सुरु भएको थियो।

उक्त घटनापछि हजारौँ शिक्षकहरूले सुरक्षा व्यवस्था कडा बनाउन माग गर्दै प्रदर्शन गरेका थिए । टर्कीमा बन्दुकसम्बन्धी कडा कानूनी व्यवस्था रहे पनि यस्ता छिटपुट घटनाले चुनौती कायम रहेको देखाएको छ ।

हालको घटनाले पुनः एकपटक विद्यालयहरूमा सुरक्षा संयन्त्र कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ र सरकारले आगामी दिनमा थप कडा उपायहरू अपनाउने अपेक्षा गरिएको छ। रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update