Khabar Out
बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

बागलुङ । निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक।

लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् ।

यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरेका हुन् । उनीहरूले खानाका परिकार पस्केर पाहुनालाई स्वागत गर्ने गरेका छन् । गत मङ्सिरदेखि सुरू गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।

पाँच महिनामा १२० पर्यटक घरबासमा बस्न आइसकेका छन् । लोकमार्गछेउमा परम्परागत चिटिक्क परेका घरले जोकोहीलाई लोभ्याउने गरेको छ । सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना राख्ने क्षमता रहेको जानकारी दिनुभयो । घरबास स्थापनाका लागि बिवाइसी बागलुङअन्तर्गत दिगो पर्यटन प्रवर्द्धन परियोजनाले सहयोग गरेको छ ।

“समूहका विभिन्न महिलाहरूको सहभागितमा सामूहिक भोजन, स्वागत तथा कलासंस्कृति प्रदर्शन गरिन्छ”, बुढामगरले भने, “ढुङ्गाले छाएका पुराना घरमा स्थानीय खानाका परिकारसँगै आतिथ्यता हाम्रो प्रमुख आकर्षण हो ।”

घरबासमा मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामलको भात, लोकल कुखुरा, खसी, भेडाको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ ।

घरबासमा एकरात खान बस्न प्रति व्यक्ति एक हजार २०० मात्रै शुल्क तोकिएको छ । यस गाउँको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा आएका पर्यटक मुक्तिराम सापकोटाले बताए । “घरबास सञ्चालकहरूको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर स्थानीय परिकार खान पाइयो”, सापकोटाले भन्नुभयो, “घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचारप्रसार आवश्यक छ ।” रासस

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update