Khabar Out
चौथो एपाक आइपीभी–६ काउन्सिल मिट सम्पन्न,  डिजिटल पूर्वाधार सुदृढ हुने अपेक्षा

काठमाडौं । सुबिसुद्वारा आयोजित चौथो एपाक आइपीभी–६ काउन्सिल मिट भव्य रूपमा सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय स्तरको यो महत्वपूर्ण सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणालीसम्बन्धी विविध विषयमा छलफल गर्दै शुक्रबार सम्पन्न भएको हो ।

सम्मेलनको पहिलो दिन आइपीभी–६ सञ्चालित कृत्रिम बुद्धिमत्ता डेटा सेन्टरमार्फत उद्यमस्तरीय सूचना तथा सञ्चार प्रविधिको भविष्य, आइपीभी–६ को विकासक्रम, साइबर सुरक्षा तथा जोखिम, र नेपालको सार्वभौम डिजिटल मार्गचित्रलगायतका विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो ।

यस अवसरमा नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा आइपीभी–६ प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आइपीभी–६ काउन्सिलबीच सहकार्यसम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा एपाक आइपीभी–६ काउन्सिलका तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदास तथा सुबिसुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले हस्ताक्षर गरेका हुन् । उक्त सहकार्यले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको दोस्रो दिन विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए । पहिलो सत्रमा सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोटीले आइपीभी–६ कम्प्लायन्सबारे प्रस्तुति दिएका थिए भने आइक्यानका एसिया–प्रशान्त क्षेत्रका प्राविधिक संलग्नता निर्देशक चम्पिका विजयतुंगाले नेपालमा डिएनएस सुरक्षा कार्यान्वयनबारे भर्चुअल माध्यमबाट धारणा राखे ।

दोस्रो सत्रमा एपाक आइपीभी–६ काउन्सिलका अध्यक्ष डा. नवनीथन सी. अर्जुमनले आइपीभी–६ कार्यान्वयन रणनीतिबारे प्रकाश पारे । त्यसपछि सानिमा बैंकका बिक्रम श्रेष्ठले वित्तीय क्षेत्रमा आइपीभी–६ कार्यान्वयनका चुनौतीबारे धारणा राखेका थिए भने आइपीभी–६ फोरमका लतिफ लादिदले विशेष वक्ताका रूपमा सम्बोधन गरेका थिए । साथै डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टम विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । अन्तिम सत्रमा डा. अर्जुमनले सहभागीहरूका लागि कार्यशाला सञ्चालन गरेका थिए ।

सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिने दिशामा यो सम्मेलन महत्वपूर्ण कदमका रूपमा लिइएको छ । आयोजक सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले सम्मेलनले आगामी दिनमा नेपालको डिजिटल पूर्वाधार सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

उनले अन्तर्राष्ट्रिय तथा स्वदेशी विज्ञहरूबीच अनुभव आदानप्रदानसहित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै यसले नीतिनिर्माण प्रक्रियामा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले सम्मेलनले आइपीभी–६ प्रयोगमार्फत कनेक्टिभिटी र सेवा उपलब्धता विस्तार गर्न मद्दत गर्ने बताए । उनले आइपीभी–६ तर्फको रूपान्तरणलाई सम्बोधन गर्न प्राधिकरणले परामर्शपत्रसमेत प्रस्तुत गरेको जानकारी दिए ।

उनका अनुसार आइपीभी–६ अपनाउने क्रममा देखिएका चुनौतीहरू अन्तर्राष्ट्रिय स्तरमै साझा गरिएकाले प्राधिकरणले यस सम्मेलनलाई विशेष महत्व दिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update