Khabar Out
सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एशिया–प्रशान्त क्षेत्रमा आइपीभी सिक्स प्रवर्द्धनमा सक्रिय एपाक आइपीभी सिक्स काउन्सिलबीच महत्वपूर्ण सहकार्य सम्झौता भएको छ । चौथो एपाक आइपीभी सिक्स काउन्सिल बैठकको पहिलो दिन, अप्रिल ९ मा काठमाडौंस्थित होटल र्‍याडिसनमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन सउद र काउन्सिलका अध्यक्ष प्रोफेसर डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले दुई संस्थाबीच प्राविधिक ज्ञान आदान–प्रदान, विशेषज्ञ विनिमय, संयुक्त प्रकाशन तथा प्रचार–प्रसारमा सहकार्य गर्ने ढोका खोलेको छ । साथै, सुबिसुले काउन्सिलको संस्थागत सदस्यका रूपमा सहभागी हुने अवसर पनि पाएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत सउदले यस्तो अन्तर्राष्ट्रियस्तरको सम्मेलनमार्फत औपचारिक साझेदारी गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै यसले नेपाललाई एशिया–प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्र बनाउन सहयोग पुग्ने बताए ।

एपाक आइपीभी सिक्स काउन्सिल आइपीभी सिक्स फोरमको एशिया–प्रशान्त शाखा हो, जसले यस क्षेत्रमा इन्टरनेटको नयाँ संस्करणको विस्तार र प्रवर्द्धनमा प्राविधिक नेतृत्व प्रदान गर्दै आएको छ ।

सम्झौताअन्तर्गत प्राविधिक ज्ञान तथा उत्कृष्ट अभ्यास आदान–प्रदान, प्रकाशनमा सहकार्य, नाम र लोगोको प्रयोग तथा विशेषज्ञ विनिमय जस्ता क्षेत्र समेटिएका छन् ।

यो सहकार्यले ‘डिजिटल नेपाल’ अभियानलाई थप बल पुग्ने र देशको इन्टरनेट पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, भविष्यको इन्टरनेट विस्तार, इन्टरनेट अफ थिङ्स तथा क्लाउड प्रविधिका लागि पनि यो महत्वपूर्ण कदम मानिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update