काठमाडौं । सूचना प्रविधि क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय सुबिसुको आयोजनामा चौथो ‘एपाक आईपीभी–६ काउन्सिल बैठक’ काठमाडौंमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मेलन यही चैत २७ र २८ मा काठमाडौंको होटल याक एण्ड यतीमा आयोजना हुन लागेकाे हाे । सम्मेलनले नेपाललाई एशिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधारसम्बन्धी छलफलको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई ‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ। सम्मेलनमा फाइभजी, स्मार्ट सिटी, औद्योगिक स्वचालनजस्ता आधुनिक प्रविधिका लागि आवश्यक आईपीभी–६ प्रविधिबारे छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ । साथै, बढ्दो साइबर सुरक्षाका चुनौतीबारे पनि विशेष ध्यान दिइने जनाइएको छ ।
दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ, मुख्य वक्ता तथा प्रविधि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सहभागीहरूले ज्ञान आदान–प्रदान, सञ्जाल विस्तार तथा क्षमता अभिवृद्धिको अवसर पाउनेछन् ।
यस वर्ष सम्मेलन विशेषगरी उद्यम (इन्टरप्राइज) नेटवर्क संरचनामा आईपीभी–६ को व्यावहारिक प्रयोगमा केन्द्रित रहने आयोजकले जनाएको छ । क्लाउडमा आधारित तथा सुरक्षित सञ्जाल प्रणालीतर्फ विश्व अग्रसर भइरहेका बेला आईपीभी–६ अब प्राविधिक सुधार मात्र नभई रणनीतिक आवश्यकता बनिसकेको उल्लेख गरिएको छ ।
सम्मेलनको पहिलो दिन ‘विश्वव्यापी अपनत्व, अनुभव र आईपीभी–६ मार्फत सूचना तथा सञ्चार प्रविधि प्रणालीको विकास’ तथा दोस्रो दिन ‘आईपीभी–६ र डीएनएसएसईसी कार्यान्वयनमार्फत उद्यम सञ्जाल सशक्तीकरण’ शीर्षकमा विभिन्न सत्र सञ्चालन हुनेछन् ।
सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले सम्मेलनले संस्थाहरूलाई सुरक्षित र सक्षम सञ्जाल पूर्वाधार निर्माणमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले यसबाट अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञान हासिल गर्ने अवसर मिल्ने र नेपालको भविष्यको सञ्जाल नीतिमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।







