म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन ।
सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनिने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पसेका छन् । “युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,” उनले भने, “आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौँ । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर व्यावसायिक भेडाबाख्रा पालेको हो ।”
हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पुँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गरेका छन् । उनका परिवार र आफन्त पोखरामा बसोबास गर्छन् । उनी भने छ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गर्छन् ।
“असोजमा बेसी झारेको भेडागोठ हिउँदभरि मल्कवाङको फेदी खालीखोलामा राखेँ,” उनले भने, “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पु¥याउँछौँ ।” सहरबजारको कोलाहल, प्रदूषण र तनावभन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने उनको अनुभव छ ।
एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बनेका छन् भने गाउँका तीन जनालाई रोजगारी दिएका छन् । करिब रु एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका उनले वार्षिक रु ३० देखि ४० लाखको भेडाबाख्रा बिक्री हुने बताएका छन् ।
मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको उनको अनुभव छ । भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ । घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पालेका छन् । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनि साथमा राखेका छन् । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको उनले बताए । रासस







