Khabar Out
कम्दी जैविक मार्गमा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम

नेपालगन्ज । बाँकेको कम्दी जैविक मार्ग (करिडोर) मा रहेका १८ वटा सामुदायिक वन र दुई वटा चक्ला वनमा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम सुरु गरिएको छ ।

जिल्ला वन डिभिजन कार्यालय, बाँकेले इलम परियोजनाको समन्वयमा वन्यजन्तुको वासस्थान सुधारका लागि घाँसेमैदानको व्यवस्थापन, कृत्रिम पानी पोखरी र पुनरुत्थान प्रवर्द्धन कार्यक्रम गरिएको डिभिजन वन कार्यालय, बाँकेका योजना प्रमुख सुशील सुवेदीले जानकारी दिए ।

हालै ४५० वर्गकिलोमिटर क्षेत्रफलको कम्दी करिडोरमा अहिलेसम्म १५ वटा कृत्रिम पानी पोखरी निर्माण भएको उल्लेख गर्दै ५६ हेक्टर जमिन क्षेत्रफलमा पुनरुत्थान तथा वनको प्रवर्द्धन कार्यक्रम भएको बताए ।

भारतको शोहलुवा वन्यजन्तु आरक्ष जोड्ने सो कम्दी जैविक मार्ग क्षेत्रमा पुनरुत्थान कार्यक्रमअन्तर्गत झाडी प्रजाति हटाएर प्राकृतिक प्रजातिका साल, खयर, असना, धौठीलगायतका प्रजातिको संरक्षण तथा संवर्द्धन गरिएको छ ।

उनले भने, “हामीले खासगरी जैविक मार्गमा त्यस क्षेत्रका बासिन्दाका लागि जीविकोपार्जनका साथसाथै दिगो वन व्यवस्थापनमा पनि जोड दिएर काम गरिरहेका छौँ ।” जैविक मार्गमा वन्यजन्तु सुधारसँगै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन उद्यम, दुना तथा टपरी उद्यमका लागि अनुदान सहयोगलगायतका कार्यक्रम इलम परियोजनाको सहयोगमा सुरु गरिएको जानकारी दिँदै सुवेदीले वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारजालीको व्यवस्थापन गरिएको समेत बताए ।

यसबाहेक जैविक मार्गमा १०० बढी वन्यजन्तुको उद्धार गरिएको जानकारी दिँदै उनले वन्यजन्तुको व्यवहारबारे स्थानीयवासीलाई सचेतनाका कार्यक्रम सञ्चालन भएको उल्लेख गरे । उक्त जैविक मार्गको भगवती सामुदायिक वन, त्रिशक्ति सामुदायिक वनलगायतका सामुदायिक वनमा वन्यजन्तुको आहारा वनमै उपलब्ध गराइ वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने सुवेदीको भनाइ छ ।

यस वर्षदेखि नै इलम परियोजनाले सुरु गरेको पुनरुत्थान कार्यक्रमअन्तर्गत झाडी प्रजाति हटाउने कार्यक्रम लुम्बिनी प्रदेश सरकारले बर्सेनि गर्दै आएको छ । गत वर्ष मात्रै २० हेक्टर क्षेत्रफल जमिनमा वन्यजन्तुका लागि घाँसे मैदान निर्माण गरिएको थियो । रासस

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update