काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।
सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताए। उनका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् ।
उनले भने, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।” यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ।
उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।
खुडारीले भने,“अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।”
“स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् । ”उनका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।
सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् ।
मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो ।पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ ।
अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ । रासस





