Khabar Out
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत

काठमाडौँ । सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो ।

सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस वृद्धिको प्रमुख कारण सेवा क्षेत्र, खाद्य पदार्थ तथा खुद्रा वस्तुहरूको मूल्यमा आएको वृद्धि हो, जसमा विशेषगरी चिनियाँ नयाँ वर्षसँग सम्बन्धित मौसमी प्रभावले पनि योगदान दिएको बताइएको छ।

व्यापार तथा उद्योग मन्त्रालय र सिंगापुरको मौद्रिक प्राधिकरणले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा उपभोक्ता मूल्य सूचकांक मासिक आधारमा पनि शून्य दशमलव ५ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

आवास र निजी यातायात खर्चलाई समावेश नगर्ने मुख्य उपभोक्ता मूल्य सूचकांकलाई अर्थतन्त्रमा वास्तविक मूल्यवृद्धि मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा लिने गरिन्छ। यद्यपि, समग्र मुद्रास्फीति दर भने फेब्रुअरीमा घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन जनवरीमा १ दशमलव ४ प्रतिशत रहेको थियो ।

यसले केही क्षेत्रमा मूल्यवृद्धि बढे पनि समग्र अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब पूर्ण रूपमा तीव्र नभएको संकेत गर्ने समाचारमा उल्लेख छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update