सिरिया । इजरायल–हेजबुल्लाह युद्ध सुरु भएयता छिमेकी देश लेबनानबाट करिब एक लाख १९ हजार सिरियाली नागरिक आफ्नो देश फर्किएका छन्।
संयुक्त राष्ट्रसङ्घीय विस्थापन निकाय (आईओएम) का तथ्याङ्क अनुसार मार्च १७ सम्म युद्ध सुरु भएदेखि सिरिया प्रवेश गर्ने कुल संख्या १ लाख २५ हजार ७८४ पुगेको थियो । जसमा करिब एक लाख १९ हजार सिरियाली छन्।
लेबनानमा सन् २०११ देखि सुरु भएको गृहयुद्धबाट भागेका करिब १० लाख सिरियालीहरू आश्रयमा थिए। हेजबुल्लाहले मार्च २ मा अमेरिका–इजरायली हमलाको प्रतिशोध स्वरूप इजरायलविरूद्ध आक्रमण सुरु गरेको थियो भने इजरायलले लेबनानमा तीव्र आक्रमण गर्दै दक्षिणी क्षेत्रमा स्थलगत कारबाही गरेको छ। इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार चार सिरियाली मारिएका थिए।
सिरिया अहिलेसम्म क्षेत्रीय युद्धबाट बाहिर रहेको छ। सन् २०२४ मा बशर अल–असदको पतनपछि लेबनानबाट पाँच लाखभन्दा बढी सिरियालीहरू स्वदेश फर्किसकेका थिए। रासस





